नेपाल हेल्थ न्युज, काठमाडौं। वीर अस्पतालले बिरामीको चापलाई मध्यनजर गर्दै आकस्मिक कक्षको क्षमता विस्तार गरेको छ। यसअघि ३५ शैय्यामा सीमित रहेको आकस्मिक कक्ष अब ५५ शैय्याबाट सेवा दिन थालेको छ।
अस्पताल प्रशासनका अनुसार निकट भविष्यमा थप २० शैय्या थपिने तयारी भइरहेको छ। यससँगै आकस्मिक कक्षको कुल क्षमता ७५ शैय्यामा पुग्नेछ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्रा.डा. भुपेन्द्रकुमार बस्नेतले आकस्मिक कक्षमा सधैं देखिँदै आएको अभावलाई समाधान गर्ने उद्देश्यले विस्तार गरिएको बताउनुभयो। उहाँले केही दिनमै थप शैय्या पनि सञ्चालनमा ल्याइने जानकारी दिनुभयो।
हाल आकस्मिक कक्ष रहेको लाइनको पश्चिमतर्फको भाग मर्मत तथा पुनर्निर्माण गरी सेवा विस्तार गरिएको हो। साथै, हाल प्रयोगमा रहेको स्थानलाई पनि पुनर्निर्माण गरी थप शैय्या व्यवस्थापन गर्ने योजना अस्पतालले अघि बढाएको छ।
वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माका अनुसार आकस्मिक कक्ष विस्तार र बिरामीका लागि खाना पकाउने कक्ष निर्माणसहितको परियोजना करिब ७ करोड रुपैयाँको रहेको छ। यसका लागि स्वास्थ्य मन्त्रालय र अस्पतालको आन्तरिक स्रोतबाट बजेट व्यवस्थापन गरिएको उहाँले बताउनुभयो।
उहाँले यस परियोजनाले विशेषगरी आर्थिक रूपमा कमजोर र विपन्न बिरामीलाई अझ गुणस्तरीय सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। शैय्या संख्या बढेपछि आवश्यक चिकित्सक, नर्स तथा प्यारामेडिक्सको दरबन्दी पनि स्वास्थ्य मन्त्रालयबाट सुनिश्चित हुने अपेक्षा गरिएको छ।
देशकै प्रमुख सरकारी अस्पतालका रूपमा चिनिएको वीर अस्पतालको आकस्मिक कक्षमा लामो समयदेखि शैय्या अभावका कारण बिरामीले उपचारमा समस्या भोग्दै आएका थिए। विस्तारपछि सेवा प्रवाह अझ सहज हुने अस्पतालको विश्वास छ।
अत्यावश्यक ९८ प्रकारका औषधि स्वदेशमै उत्पादन गर्न उद्योगीलाई आग्रह
मंगलबार, फागुन २६, २०८२
नेपालमै क्यान्सर उपचार सम्भव भएको गायक हेमन्त शर्माको अनुभव
मंगलबार, फागुन २६, २०८२
ढोरपाटनमा दादुरा नियन्त्रणका लागि खोप अभियान सुरु
मंगलबार, फागुन २६, २०८२
हिँडेर बर्थिङ सेन्टर जाँदै गरेकी महिलाले बाटोमै जन्माइन् शिशु
मंगलबार, फागुन २६, २०८२
