नेभिगेशन

सडक दुर्घटना न्यूनीकरणका लागि ‘युनिभर्सल हेल्मेट ल’ तुरुन्त लागू गर्नुपर्नेमा जोड

नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमको उपस्थितिमा सिंहदरबारमा सडक सुरक्षा सम्बन्धी विज्ञहरू तथा सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा मन्त्री डा. गौतमले सडक दुर्घटनालाई नेपालका प्रमुख जनस्वास्थ्य समस्यामध्ये एकका रूपमा औंल्याउँदै विशेषगरी (जेन्जी) युवा पुस्ता यसबाट सबैभन्दा बढी प्रभावित भइरहेको बताउनुभयो। दुर्घटना न्यूनीकरणका लागि सरकारी निकायहरूबीच प्रभावकारी समन्वय र नागरिक स्तरको सचेतना अनिवार्य रहेको उहाँको भनाइ थियो।

अन्तरक्रियामा प्रस्तुत तथ्यांकअनुसार नेपालमा हुने सडक दुर्घटनाबाट हुने मृत्युमध्ये झण्डै आधा हिस्सा दुई पाङ्ग्रे सवारी प्रयोगकर्ताको रहेको छ। यस जोखिमलाई कम गर्न चालक र पछाडि बस्ने दुवैले अनिवार्य रूपमा हेल्मेट लगाउनुपर्ने ‘युनिभर्सल हेल्मेट ल’ तुरुन्त लागू गर्नुपर्नेमा सहभागी सबै सरोकारवालाहरूले जोड दिएका छन्।

सन् २०२१ को रिपोर्ट अनुसार नेपालमा वार्षिक करिब ८ हजार जनाको ज्यान सडक दुर्घटनाका कारण गुम्ने गरेको छ, जुन दक्षिण एसियाको औसतभन्दा झण्डै दोब्बर हो। यस्ता दुर्घटनाका कारण नेपालले वार्षिक करिब ३ अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति व्यहोर्नुपरेको छ, जुन कुल गार्हस्थ उत्पादन (जिडिपी) को करिब ७ प्रतिशत हो।

हाल सडक दुर्घटना वार्षिक ५.४ प्रतिशतका दरले बढिरहेको सन्दर्भमा सन् २०३० सम्म मृत्युदर आधा घटाउने राष्ट्रिय लक्ष्य निकै चुनौतीपूर्ण देखिएको विज्ञहरूले बताएका छन्। यद्यपि जिडिपीको मात्र ०.४ प्रतिशत रकम सडक सुरक्षामा लगानी गरे वर्षेनी करिब ३ हजार मानिसको ज्यान जोगाउन सकिने निष्कर्ष पनि कार्यक्रममा प्रस्तुत गरिएको थियो।

कार्यक्रमले सडक सुरक्षालाई स्वास्थ्य, यातायात र विकाससँग जोडिएको साझा मुद्दाका रूपमा अघि बढाउँदै नीतिगत सुधार, कडाइका साथ कानुन कार्यान्वयन र जनचेतना अभिवृद्धिमा तत्काल पहल आवश्यक रहेको निष्कर्ष निकालेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट