नेभिगेशन

स्वास्थ्य बीमा कोषको दुरुपयोग रोक्न कडा नियन्त्रण आवश्यक : स्वास्थ्यमन्त्री

नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बीमा कार्यक्रममा प्रिमियम कोषको दुरुपयोग भएको भन्दै कडा नियन्त्रण आवश्यक भएको बताउनुभएको छ। उहाँले आगामी दिनमा यस्तो दुरुपयोग रोक्न प्रभावकारी कदम चालिने बताउनुभयो।

आफ्नो तीन महिनाको कार्यकालको प्रगति सार्वजनिक गर्दै मन्त्री गौतमले भन्नुभयो कि वार्षिक एक लाख रुपैयाँसम्मको बीमा सुविधा जथाभावी रुपमा प्रयोग हुने, अनावश्यक स्वास्थ्य जाँच र उपचार गराउने प्रवृत्ति बढेको छ। साथै, सेवा प्रदायक संस्थाहरूले गलत तरिकाले पैसा उठाउने गरेको पाइएको छ।

बीमा कार्यक्रमको वित्तीय असन्तुलन प्रमुख चुनौती भएको उहाँले बताउनुभयो। उहाँले बीमा कोषमा प्रिमियम संकलनभन्दा दाबी बढी हुनु, समयमै भुक्तानी नहुनु, अनावश्यक सेवा उपभोग (मोरल हेजर्ड), उच्च जोखिम भएका व्यक्तिको बढी सहभागिता (एडभर्स सेलेक्शन), कमजोर दाबी व्यवस्थापन, सरकारी क्षेत्रको न्यून सहभागिता र बोर्डको आन्तरिक क्षमता अभाव जस्ता समस्या औँल्याउनुभयो।

यी समस्याहरूको समाधानका लागि मन्त्रालय र स्वास्थ्य बीमा बोर्डले संयुक्त राष्ट्रिय कार्यशाला आयोजना गरी १९ वटा प्रमुख बुँदामा आधारित कार्ययोजना तयार पारेको जानकारी उहाँले दिनुभयो।

मन्त्री गौतमले नागरिकहरूलाई पनि जिम्मेवार बन्नुपर्ने औँल्याउँदै भन्नुभयो, “बीमा रकम सकिनुअघि अनावश्यक इनभेस्टिगेसनको माग गर्नु उचित छैन। सेवा प्रदायकले पनि बिरामीको नाममा अनावश्यक खर्च गर्नु हुँदैन।”

साथै, उहाँले बीमाग्राहीले आफ्नो प्रिमियमबाट कति खर्च भयो र कति बाँकी छ भन्ने जानकारी तत्कालै पाउन सक्ने व्यवस्था गरिने बताउनुभया। यसले अन्य व्यक्तिहरूले अनधिकृत सेवा प्रयोग नगर्न मद्दत पुग्नेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट