नेभिगेशन

गुल्मीमा २४ सय ६५ किशोरीलाई एचपीभी खाेप दिइने

add final

नेपाल हेल्थ न्युज, गुल्मी । गुल्मी जिल्लामा पाठेघरको मुखको क्यान्सरबाट बचाउन किशोरीहरूलाई दिइने एचपीभी खोप अभियान सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ। स्वास्थ्य कार्यालय गुल्मीले जिल्लास्तरीय खोप समन्वय समितिमार्फत अभियानको तयारी तीव्र बनाएको जनाएको छ।

यो खोप कार्यक्रम माघ २४ गतेदेखि फागुन २ गतेसम्म जिल्लाभर सञ्चालन हुने जनाइएको छ। अभियान अन्तर्गत विद्यालयमा कक्षा ६ मा अध्ययनरत किशोरीहरूलाई खोप दिइनेछ। विद्यालय नजाने किशोरीहरूका हकमा १० वर्ष उमेर समूहलाई लक्षित गरिएको छ।

त्यस्तै, अघिल्लो वर्ष खोप छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत किशोरी तथा विद्यालय नजाने ११ देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई पनि खोप प्रदान गरिने स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य निरीक्षक ताराबहादुर कार्कीले जानकारी दिनुभयो।

यस वर्ष जिल्लामा करिब २ हजार ४ सय ६५ किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको छ।

गत वर्ष विशेष अभियानका रूपमा सुरु गरिएको यो खोप कार्यक्रम यस वर्षदेखि क्रमशः नियमित सेवामा समावेश हुँदैछ। आगामी वर्षदेखि फागुन महिनामै नियमित तालिकाअनुसार खोप दिइने तयारी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। खोप विद्यालयमै उपलब्ध गराइने र कुनै कारणले छुटेका किशोरीलाई नजिकको स्वास्थ्य संस्थाबाट सेवा प्रदान गरिनेछ।

जिल्ला समन्वय समिति गुल्मीका प्रमुख तथा जिल्लास्तरीय खोप समन्वय समितिका संयोजक द्रोणबहादुर खत्रीले लक्षित सबै किशोरीले सुरक्षित र गुणस्तरीय खोप पाउनुपर्नेमा जोड दिनुभयो। प्रतिखोपमा ठूलो लगानी लाग्ने भएकाले सबै सरोकारवाला जिम्मेवार बन्नुपर्ने उहाँको भनाइ छ। उहाँले खोप अभियानलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई विशेष ध्यान दिन आग्रहसमेत गर्नुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट