नेभिगेशन

निपा भाइरस परीक्षणका लागि सरकारको अन्तरिम निर्देशिका जारी

नेपाल हेल्थ न्युज, काठमाडौं । छिमेकी देश भारतमा निपा भाइरसका घटना बढ्दै गएपछि नेपाल सरकारले यससम्बन्धी नमुना संकलन र परीक्षण प्रक्रिया तय गरेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले निपा भाइरसको पहिचान, परीक्षण र व्यवस्थापनका लागि अन्तरिम निर्देशिका सार्वजनिक गरेको हो।

निर्देशिकाअनुसार ज्वरोसँगै गम्भीर श्वासप्रश्वास समस्या देखिएका, भारतलगायत निपा प्रभावित क्षेत्रबाट हालै फर्किएका तथा निपासँग मिल्दाजुल्दा लक्षण भएका व्यक्तिलाई शंकास्पद निपा संक्रमितको सूचीमा राखिनेछ। विशेषगरी भारतको केरल, पश्चिम बंगाल र बंगलादेशबाट आएका व्यक्तिमा थप सतर्कता अपनाउन स्वास्थ्य संस्थालाई भनिएको छ।

शंकास्पद तथा सम्भावित संक्रमितलाई तुरुन्तै आइसोलेसनमा राखी अस्पताल भर्ना गर्नुपर्ने र उपचारमा संलग्न स्वास्थ्यकर्मीले अनिवार्य रूपमा व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) प्रयोग गर्नुपर्ने निर्देशिकामा उल्लेख छ।

परीक्षण प्रक्रिया कस्तो हुन्छ ?

निपा भाइरसको आशंका भएमा घाँटीको स्वाब, रगत, पिसाब तथा आवश्यक परे मस्तिष्कसँग सम्बन्धित तरल पदार्थ (सीएसएफ) संकलन गर्नुपर्नेछ। संकलित नमुना जैविक सुरक्षा मापदण्ड पालना गर्दै २ देखि ८ डिग्री सेल्सियस तापक्रममा ट्रिपल प्याकेजिङ गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइने व्यवस्था गरिएको छ।

महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई परीक्षण तथा अनुसन्धानका लागि जानकारी गराउनुपर्ने पनि निर्देशिकामा उल्लेख गरिएको छ।

लक्षण देखिएर मृत्यु भएको वा गम्भीर अवस्थामा पुगेका बिरामीलाई सम्भावित निपा संक्रमित मानिनेछ।

प्रयोगशालामा रियल–टाइम पीसीआर प्रविधिबाट निपा भाइरसको परीक्षण गरिनेछ। प्रारम्भिक केसमा नतिजा पोजेटिभ आएमा केन्द्रीय प्रयोगशालाबाट पुनः पुष्टि गरिने व्यवस्था गरिएको छ। नतिजा नेगेटिभ आएमा पिसाबको थप परीक्षणसँगै लेप्टोस्पाइरोसिस, स्क्रब टाइफस र केन्द्रीय स्नायु प्रणालीसँग सम्बन्धित अन्य संक्रमणको पनि परीक्षण गरिनेछ।

निपा भाइरस कस्तो रोग हो ?

‘एनआईभी’ भनेर चिनिने निपा भाइरस मुख्यतः फल खाने चमेरो (फ्रुट ब्याट) मा पाइने भाइरस हो। यो रोग पहिलो पटक मलेसियामा पहिचान गरिएको थियो। संक्रमण भएको ४ देखि १४ दिनभित्र लक्षण देखिन थाल्छन्।

सुरुमा ज्वरो, टाउको तथा शरीर दुख्ने, घाँटी दुख्ने, बान्ता हुनेजस्ता समस्या देखिन्छन्। अवस्था गम्भीर बन्दै गएमा मस्तिष्क सुन्निने (इन्सेफ्लाइटिस) लक्षण देखिन सक्छ, जसका कारण बिरामी २४ देखि ४८ घण्टाभित्र अचेत हुनसक्छ। निमोनिया र अन्य श्वासप्रश्वाससम्बन्धी समस्या पनि देखिन सक्छन्।

डा. शेरबहादुर पुनका अनुसार उपचारपछि निको भएका करिब २० प्रतिशत बिरामीमा दीर्घकालीन स्नायु सम्बन्धी समस्या देखिन सक्छ। हालसम्म निपा भाइरसविरुद्ध प्रभावकारी औषधि वा खोप विकास भइसकेको छैन।

विश्व स्वास्थ्य संगठनका अनुसार निपा भाइरसको संक्रमणमा मृत्यु दर ४० देखि ७५ प्रतिशतसम्म पुग्न सक्छ। भारतमा समय–समयमा साना आउटब्रेक देखिँदै आएका छन् र धेरै संक्रमितको ज्यान जाने गरेको तथ्यांकले देखाउँछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट