नेभिगेशन

सरकारले बीमाको भुक्तानी नगरे महानगरले तिर्छ: मेयर महर्जन

नेपाल हेल्थ न्युज, काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पाटन अस्पतालसँगको सहकार्यमा सञ्चालन हुँदै आएको स्वास्थ्य कार्यक्रमअन्तर्गत नेपाल सरकारले स्वास्थ्य बीमाको भुक्तानी नगरे महानगरपालिकाले आफैं सो रकम तिर्ने प्रतिबद्धता जनाउनुभएको छ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मेयर महर्जनले स्वास्थ्य बीमाको रकम समयमै भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको बताउनुभयो। उहाँले बीमाको भुक्तानी नपाएर सेवा बन्द गर्नुपर्ने अवस्था आएमा त्यसको प्रत्यक्ष जिम्मेवारी आफूले लिनुपर्ने र आलोचना पनि आफूले नै खेप्नुपर्ने उल्लेख गर्नुभयो।

अहिले सुन्नमा आइरहेको छ, नेपाल सरकारले पैसा तिरेन भनेर। बीमाको कुरा गर्दा मन्त्रीज्युसँग रिंगटा लागेझैँ भयो,’ उहाँले भन्नुभयो, ‘कथं कदाचित सरकारकै कारण पाटन अस्पताल बन्द गर्नुपर्‍यो भने सबैभन्दा बढी गाली मैले नै खानुपर्ने रहेछ।’

मेयर महर्जनले नेपाल सरकारले औपचारिक पत्रमार्फत अनुमति दिए वा भुक्तानीको जिम्मेवारी महानगरपालिकालाई सुम्पिएको खण्डमा ललितपुर महानगरपालिकाले सो दायित्व पूरा गर्ने स्पष्ट पार्नुभयो। ‘यदि नेपाल सरकारले अहिलेको निमित्त महानगरपालिकाले यो भुक्तानी गरिदिनु भनेर पत्र दियो भने म भुक्तानी गरिदिन्छु, जे पर्ला पर्ला,’ उहाँले भन्नुभयो।

कार्यक्रममा उहाँले पाटन अस्पतालकै प्राविधिक सल्लाह र सुझावअनुसार नयाँ स्वास्थ्य केन्द्र स्थापना गर्न लागिएको जानकारी पनि दिनुभयो। उक्त स्वास्थ्य केन्द्रमा आवश्यक फ्यासिलिटीहरू जडान भइसकेको र निकट भविष्यमै सञ्चालनमा ल्याइने उहाँले बताउनुभयो।

‘नयाँ केन्द्र सञ्चालनमा आएपछि राष्ट्रिय स्वास्थ्य बीमा प्रतिष्ठानअन्तर्गत रहेर अझ राम्रो सेवा प्रवाह गर्न सक्छौँ,’ उहाँले भन्नुभयो, ‘ललितपुर महानगरपालिकाले पाटन अस्पतालसँग सहकार्य गरेर अघि बढाएको यो मोडल देशभरका ७५३ स्थानीय तहका लागि असल अभ्यास बनेको छ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट