नेपाल हेल्थ न्युज, खोटाङ । खोटाङ जिल्लाको जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङमा आयोजित विवाह भोजपछि करिब डेढ सय जना स्थानीय बिरामी परेका छन्। भोजमा सहभागी भएकाहरूमा ज्वरो, झाडापखाला, काम्ने लगायतका समस्या देखिएपछि खाद्य विषाक्तता (फुड पोइजनिङ) भएको आशंका गरिएको छ।
माघ २१ गते विवाह भोज खाएका सहभागीहरू माघ २२ गते साँझदेखि एकपछि अर्को गर्दै बिरामी पर्न थालेका हुन्। भोज खाएको करिब १२ घण्टापछि लक्षण देखिन थालेको जनाइएको छ। बेहुला–बेहुलीसहित अधिकांश सहभागी बिरामी परेका छन्।
बिरामीको उपचारका लागि दिप्लुङकै निगालावास भञ्ज्याङस्थित रामकुमार राईको घरमा अस्थायी स्वास्थ्य शिविर सञ्चालन गरिएको जन्तेढुंगा गाउँपालिकाका उपाध्यक्ष खेम खड्काले जानकारी दिनुभयो। गाउँपालिकाको स्वास्थ्य शाखाको आरआरटी टोली, स्वास्थ्य कार्यालयका कर्मचारी तथा जनप्रतिनिधिहरू उपचारमा खटिएका छन्।
बिरामीको संख्या बढ्दै गएपछि स्वास्थ्य कार्यालयबाट थप जनशक्ति र औषधि मगाइएको छ। माघ २३ गतेदेखि बिरामीहरूलाई एउटै स्थानमा भेला गरेर उपचारको व्यवस्था मिलाइएको हो।
गाउँपालिकाका अनुसार भोजमा सहभागी भएका प्रायः सबैमा स्वास्थ्य समस्या देखिएको छ, जसमध्ये केहीको अवस्था गम्भीर रहेको छ। हालसम्म धेरैजसो बिरामी उपचारपछि घर फर्किसकेका छन् भने करिब ३५ जनालाई अझै स्लाइन पानी, जीवनजल तथा आवश्यक औषधि दिएर उपचार भइरहेको छ।
भोजमा सहभागी भएर उदयपुर, काठमाडौं लगायत अन्य जिल्लामा फर्किएका पाहुनाहरू समेत बिरामी परेको खबर आएको उपाध्यक्ष खड्काले बताउनुभयो।
खाद्य विषाक्तताको वास्तविक कारण पत्ता लगाउन प्रदेशस्तरबाट नमूना संकलन गर्न टोली बोलाइएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख कुलबहादुर पौडेलले जानकारी दिनुभयो।
फेक रेस्क्यू प्रकरण: डा. गिर्वाणराज तिमिल्सिना पक्राउ
आइतबार, माघ २५, २०८२
काठमाडौं विश्वकै सातौँ प्रदूषित सहरमा सूचीकृत
आइतबार, माघ २५, २०८२
नेपाल मेडिसिटी अस्पतालमा पुनः अर्को सफल कलेजो प्रत्यारोपण
आइतबार, माघ २५, २०८२
स्वास्थ्य बीमालाई राष्ट्रिय प्राथमिकताको योजना बनाउने गगन थापाको प्रतिबद्धता
आइतबार, माघ २५, २०८२
