नेभिगेशन

स्वास्थ्य बीमालाई राष्ट्रिय प्राथमिकताको योजना बनाउने गगन थापाको प्रतिबद्धता

नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले स्वास्थ्य बीमालाई व्यवस्थित गर्दै राष्ट्रिय महत्वको योजनाको रूपमा अघि बढाउने धारणा सार्वजनिक गर्नुभएको छ।

सामाजिक सञ्जालमा आफ्नो भनाइ राख्दै उहाँले पछिल्लो समय समस्याग्रस्त बन्दै गएको स्वास्थ्य बीमा प्रणालीलाई सुधार गरेर प्रभावकारी बनाउने तयारी भइरहेको बताउनुभएको छ। बीमा कार्यक्रमलाई सफल बनाउन आवश्यक तयारी र विभिन्न विकल्पमाथि अध्ययन भइरहेको उहाँको भनाइ छ।

सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न प्रत्येक नेपालीका लागि स्वास्थ्य बीमा अनिवार्य गर्नुपर्ने थापाको धारणा छ। त्यसका लागि सुर्तीजन्य पदार्थ, मदिरा लगायतका वस्तुमा कर बढाई सोही रकम बीमा कार्यक्रममा लगानी गर्न सकिने उहाँले उल्लेख गर्नुभएको छ ।

उहाँका अनुसार सामाजिक सुरक्षा र स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरूलाई एकीकृत गर्दै बीमा प्रणालीअन्तर्गत सञ्चालन गर्न आवश्यक छ। संघ, प्रदेश र स्थानीय सरकारबीचको सहकार्य बलियो बनाउन सके बीमा कार्यक्रम अझ प्रभावकारी बन्न सक्ने उहाँले बताउनुभएको छ।

थापाले निजी तथा सरकारी सबै स्वास्थ्य संस्थाबाट बीमामार्फत सेवा उपलब्ध गराउने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो। साथै, बीमा प्रणालीमा सुशासन कायम गर्न चुहावट नियन्त्रण, समयमै भुक्तानी र संरचनागत सुधार अपरिहार्य रहेको उहाँले बताउनुभयो।

प्रतिनिधि सभाको निर्वाचनपछि बीमाको दायरा विस्तार गर्दै उपचार खर्चको सीमा व्यापक बनाउने सम्भावना रहेको उहाँको भनाइ छ। बीमा प्रणाली सुदृढ बनाउन सके कुनै पनि नागरिक आर्थिक अभावकै कारण उपचारबाट वञ्चित हुन नपर्ने उहाँले स्पष्ट पार्नुभयो।

उहाँले भन्नुभएको छ, बीमा गरेपछि केही सीमित सूची बाहेक अधिकांश उपचार खर्च राज्यले बेहोर्ने अवस्था सिर्जना गर्न सकिन्छ। यस्तो व्यवस्था लागू भएमा उपचार खर्चका कारण कसैलाई समस्या नपर्ने र यसको जिम्मेवारी राज्यले लिने बताउनुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट