नेपाल हेल्थ न्युज, काठमाडौं। नेपाल मेडिसिटी अस्पतालमा एक महिलाको कलेजो प्रत्यारोपण शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। पोखराकी ४८ वर्षीया महिलालाई उनका परिवारकै सदस्य ३७ वर्षीया देउरानीले कलेजो दान गरेकी हुन्।
लामो समयदेखि जन्डिसबाट ग्रसित ती महिलामा समयसँगै स्वास्थ्य जटिल बन्दै गएको अस्पतालले जनाएको छ। अस्पताल पुग्दा उनको शरीरमा अत्यधिक जन्डिस देखिनुका साथै पेटमा पानी जम्ने, हातखुट्टा सुन्निने, हिँडडुल गर्न कठिनाइ हुने र खानामा रुचि नलाग्ने जस्ता गम्भीर समस्या देखिएका थिए।
नेपाल मेडिसिटी अस्पतालका हेपाटो–प्यान्क्रियाटो–बिलियरी तथा लिभर ट्रान्सप्लान्ट युनिटका प्रमुख प्रा.डा. उमिद कुमार श्रेष्ठका अनुसार परीक्षणपछि ती महिलामा अटोइम्युन हेपाटाइटिसका कारण कलेजो सिरोसिस भई कलेजो काम गर्न नसक्ने अवस्थामा पुगेको पुष्टि भएको थियो। यस्तो अवस्थामा तत्काल कलेजो प्रत्यारोपण नै एकमात्र विकल्प भएको चिकित्सकहरूको निष्कर्ष थियो।
कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा. रामबाबु शाहले प्रारम्भिक परीक्षणमा परिवारका अन्य सदस्य उपयुक्त नदेखिएपछि देउरानीको परीक्षण गर्दा मिलान सफल भएको जानकारी दिए। त्यसपछि दाता र बिरामी दुवैको स्वास्थ्य अवस्था मूल्याङ्कन गरी प्रत्यारोपण गरिएको हो।
शल्यक्रियापछि कलेजो दान गर्ने महिला आठ दिनमै अस्पतालबाट डिस्चार्ज भएकी छन् भने कलेजो प्रत्यारोपण गराएकी बिरामी १५ दिनपछि स्वस्थ अवस्थामा घर फर्किएकी छन्। हाल दुवै नियमित फलोअपमा रहेको अस्पतालले जनाएको छ।
डा. श्रेष्ठका अनुसार कलेजो बिग्रनुको कारण मदिरा सेवन मात्र नभई जन्डिस, अटोइम्युन रोग तथा फ्याटी लिभरजस्ता समस्याले पनि गम्भीर असर पुर्याउन सक्छन्। समयमै रोग पहिचान र उपचार गरे कलेजो जोगाउन सकिने उनको भनाइ छ।
यस सफल प्रत्यारोपणमा नेपाल मेडिसिटी अस्पतालका कलेजो प्रत्यारोपण सर्जन, हेपाटोलोजिस्ट, एनेस्थेसियोलोजिस्ट, क्रिटिकल केयर, नर्सिङ, फिजियोथेरापी, कार्डियोलोजी र पल्मोनोलोजी लगायत बहुविषयक चिकित्सकीय टोलीको महत्वपूर्ण योगदान रहेको अस्पतालले जनाएको छ।
अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा
शुक्रबार, असोज २, २०८३
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै
शुक्रबार, असोज २, २०८३
स्वास्थ्य बीमा अन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
शुक्रबार, असोज २, २०८३
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
