नेभिगेशन

एचपीभी खोप व्यवस्थित रुपमा अघि बढाउन डंगोलको आग्रह

नेपाल हेल्थ न्युज, काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विद्यालयलाई आधार बनाएर सञ्चालन भइरहेको एचपीभी खोप अभियानलाई प्रभावकारी र व्यवस्थित रूपमा अघि बढाउन सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभएको छ।

मंगलबार काठमाडौंको डिल्लीबजारस्थित पद्मकन्या माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा एचपीभी खोप अभियानको सुरुवात गर्दै उहाँले महानगरपालिकाको स्वास्थ्य विभागसहित सरोकारवाला पक्षलाई अभियान सफल बनाउन जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

सरकारले पाठेघरको मुखको क्यान्सरबाट जोगिन सहयोग पुर्‍याउने एचपीभी खोप निःशुल्क उपलब्ध गराउँदै आएको उल्लेख गर्दै कार्यवाहक प्रमुख डंगोलले लक्षित उमेर समूहका किशोरीहरूले यो अवसरको भरपुर उपयोग गर्नुपर्ने बताउनुभयो ।

उहाँका अनुसार अघिल्लो वर्षसम्म उक्त खोप लिन व्यक्तिले खर्च व्यहोर्नु पर्ने अवस्था रहे पनि हाल महानगरपालिका क्षेत्रभित्रका विद्यालयहरूमा निःशुल्क रूपमा खोप कार्यक्रम सञ्चालन भइरहेको छ । यस कार्यक्रमबाट सकेसम्म धेरै किशोरी लाभान्वित हुनुपर्ने उहाँको भनाइ थियो ।

काठमाडौं महानगरपालिका भित्रका सबै विद्यालयमा खोप अभियान लागू भइरहेको जनाउँदै उहाँले कार्यक्रमलाई व्यवस्थित र सफल रूपमा सम्पन्न गर्न सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

पाठेघरको मुखको क्यान्सरका कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि त्यसको रोकथामका लागि सरकारले एचपीभी खोपलाई अभियानकै रूपमा अघि बढाएको हो । यस अभियानबाट लाभ लिन महानगरपालिकाले सबै सरोकारवालालाई आह्वान गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट