नेपाल हेल्थ न्युज, काठमाडौं । काठमाडौं जिल्ला अदालतले एक वरिष्ठ प्लास्टिक सर्जन जसवन शाक्यलाई बिरामीमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा दोषी ठहर गर्दै कैद, जरिवाना र क्षतिपूर्तिको सजाय सुनाएको छ। घटना उनी कार्यरत रहेको ग्रान्डी इन्टरनेसनल अस्पतालमा उपचारका लागि पुगेकी एक युवतीसँग सम्बन्धित छ।
पीडित युवती दुई वर्षअघि असोज ३ गते थाइको बोसो घटाउने विषयमा परामर्श तथा स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेकी थिइन्।
परीक्षणका क्रममा चिकित्सकले बिना पूर्व जानकारी वा बिना सहमति भित्री वस्त्र हटाएर गुप्ताङ्ग निरीक्षण गरेको आरोप अदालतले प्रमाणित ठहर गरेको हो।
अदालतले डा. शाक्यले बिरामीको गुप्ताङ्ग हेरेको स्वीकार गरेको तर त्यसको चिकित्सकीय औचित्य पुष्टि गर्न नसकेको ठहर गरेको छ। फैसलामा युवतीको शारीरिक परीक्षण वा शल्यक्रियाका लागि गुप्ताङ्गको परीक्षण आवश्यक नदेखिएको उल्लेख छ। साथै, पुरुष चिकित्सकले महिला बिरामीको परीक्षण गर्दा महिला स्वास्थ्यकर्मी अनिवार्य रूपमा उपस्थित गराउनुपर्ने व्यवस्था भए पनि त्यसो नगरेको तथ्य पनि पुष्टि भएको छ।
फैसलामा महिलाको अस्मिता र इज्जत जोडिएको संवेदनशील विषयमा स्पष्ट अनुमति बिना छुनु वा हेर्नु अस्वीकार्य हुने उल्लेख गरिएको छ। चिकित्सकले नेपाल मेडिकल काउन्सिलमा दिएको बयान तथा साक्षीहरूको बकपत्रबाट पनि उनी परीक्षण कक्षमा एक्लै रहेको पुष्टि भएको अदालतले जनाएको छ।
अदालतले उक्त कार्यलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २२४ अन्तर्गतको कसुर ठहर गर्दै ६ महिना कैद, ५ हजार रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेश दिएको छ। घटनापछि सम्बन्धित चिकित्सक उक्त अस्पतालबाट अलग भइसकेका छन्।
बरिष्ठ चिकित्सक डा. ऋषि कुमार काफ्लेलाई पुत्रशोक
बुधबार, फागुन ६, २०८२
न्यून गुणस्तर भेटिएपछि ‘इन्क्लेभ ओडी’ बजारबाट फिर्ता गर्न निर्देशन
बुधबार, फागुन ६, २०८२
प्रदूषित सहरका रुपमा काठमाडौँ विश्वकै तेस्रो स्थानमा
मंगलबार, फागुन ५, २०८२
काठमाडौं महानगरका ज्येष्ठ नागरिकको स्वास्थ्य सर्वेक्षण
मंगलबार, फागुन ५, २०८२
