नेपाल हेल्थ न्युज, काठमाडौं । आजभोलि धेरैजसो घरमा समय बचत गर्न एकै पटक धेरै परिमाणमा खाना पकाएर फ्रिजमा राख्ने चलन बढ्दो छ । यसो गर्दा बारम्बार भान्सामा समय खर्चिनु नपर्ने सुविधा त मिल्छ, तर केही खानेकुरा पटक–पटक तताएर खानु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ।
विशेषगरी हरियो पत्तेदार सागसब्जी र जमिनमुनि फल्ने तरकारीहरू जस्तै गाजर, सलगम आदिमा नाइट्रेटको मात्रा पाइन्छ । यस्ता तरकारीलाई बारम्बार तताउँदा नाइट्रेटको संरचनामा परिवर्तन भई शरीरका लागि जोखिमपूर्ण तत्व बन्न सक्ने बताइन्छ । दीर्घकालीन रूपमा यसले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ।
पालुङ्गो (स्पिनाच) पकाइसकेपछि पुनः तताएर खानु उपयुक्त मानिँदैन । यसमा पाइने आइरन अत्यधिक तापमा अक्सिडाइज हुन सक्छ, जसबाट फ्री–र्याडिकल्स बन्ने सम्भावना हुन्छ । यस्ता तत्वले शरीरका कोषहरूमा असर पुर्याउन सक्छन्।
त्यस्तै, पकाएको भात लामो समय कोठाको तापक्रममा राख्दा ब्याक्टेरिया वृद्धि हुन सक्छ । विशेषगरी ब्यासिलस सेरियस नामक जीवाणु भातमा विकसित हुन सक्ने विभिन्न अध्ययनहरूले देखाएका छन् । त्यसैले भात पकाएपछि छिट्टै चिस्याएर फ्रिजमा राख्नु र आवश्यक परिमाण मात्र तताएर खानु सुरक्षित उपाय मानिन्छ।
आलु पनि पकाएपछि लामो समय बाहिर राख्दा जीवाणु संक्रमणको जोखिम हुन्छ । गलत तरिकाले भण्डारण गरिएका आलुजन्य परिकारले बोटुलिज्म जस्ता गम्भीर खाद्यजन्य रोग निम्त्याउन सक्छन्।
अन्डा र च्याउजस्ता प्रोटिनयुक्त खानेकुरा पनि बारम्बार तताउँदा पोषक तत्त्व घट्न सक्छ । मासु तथा तेल (विशेषगरी ओलिभ आयल) पटक–पटक अत्यधिक तापमा प्रयोग गर्दा पनि स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ।
के गर्ने त ?
- सकेसम्म आवश्यक परिमाण मात्रै पकाउने बानी बसाल्ने।
- पकाएको खाना लामो समय कोठाको तापक्रममा नराख्ने।
- बाँकी रहेको खाना छिटो चिस्याएर फ्रिजमा राख्ने।
- जति खाने हो त्यति मात्रै निकालेर एकपटक तताउने।
- दुई दिनभित्रै फ्रिजमा राखेको खाना सक्ने प्रयास गर्ने।
सजग भण्डारण र सही तरिकाले तताउने अभ्यासले खाद्यजन्य जोखिम कम गर्न मद्दत गर्छ । समय बचतसँगै स्वास्थ्य सुरक्षालाई पनि बराबर प्राथमिकता दिनु आवश्यक छ।
भक्तपुर अस्पतालको प्रमुख मेडिकल सुपरीटेन्डेन्टमा डा. झा नियुक्त
बुधबार, जेठ २७, २०८३
अल्सर रोग के हो ? के खाने के नखाने ? यस्तो छ डाक्टरको सल्लाह
बुधबार, जेठ २७, २०८३
चिकित्सक लाइसेन्स परीक्षाका लागि अब काठमाडौं धाउन नपर्ने
बुधबार, जेठ २७, २०८३
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा
बुधबार, जेठ २७, २०८३

