नेभिगेशन

वैदेशिक रोजगारीका श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थामाथि कडाइ गर्ने निर्णय

नेपाल हेल्थ न्युज, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूको स्वास्थ्य परीक्षण प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन कडाइ गर्ने निर्णय गरेको छ।

मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै स्वास्थ्य परीक्षणसम्बन्धी सम्पूर्ण कार्य तोकिएको कानुनी व्यवस्था र कार्यविधिअनुसार मात्रै सञ्चालन गर्न निर्देशन दिएको जनाएको छ।

वैदेशिक रोजगारीमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण हाल प्रचलित “स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमन सम्बन्धी कार्यविधि, २०७२” अनुसार सूचीकृत स्वास्थ्य संस्थामार्फत हुँदै आएको मन्त्रालयले स्पष्ट पारेको छ।

मन्त्रालयका अनुसार केही गन्तव्य मुलुकसँग सम्बन्धित निकाय, गैरसरकारी संस्था वा व्यक्तिहरूले स्वास्थ्य परीक्षण संस्थाको अनुगमन गर्ने, नयाँ संस्था थपघट गर्ने, परीक्षणका मापदण्ड निर्धारण गर्ने र सेवा शुल्क तोक्ने जस्ता गतिविधि गर्दै आएको जानकारी प्राप्त भएको छ। यस्ता गतिविधि प्रचलित व्यवस्था र द्विपक्षीय सहमतिविपरीत हुने ठहर मन्त्रालयको छ।

यस प्रकारका हस्तक्षेपले श्रमिकमाथि अतिरिक्त आर्थिक भार पर्ने र स्वास्थ्य परीक्षण प्रणालीमा अन्योल उत्पन्न हुन सक्ने जोखिम रहेको पनि मन्त्रालयले जनाएको छ।   

यस विषयमा सम्बन्धित गन्तव्य मुलुकका निकायहरूले स्वास्थ्य परीक्षणसम्बन्धी कुनै कदम चाल्नुअघि स्पष्ट आधारसहित मन्त्रालयको पूर्वस्वीकृति र समन्वयमा मात्र काम गर्नुपर्ने व्यवस्था मिलाउन नेपालस्थित कूटनीतिक नियोगहरूलाई जानकारी गराउन परराष्ट्र मन्त्रालयसँग अनुरोध गरिएको छ।

आगामी दिनमा स्वास्थ्य परीक्षणसम्बन्धी सम्पूर्ण कार्य मन्त्रालय वा मातहतका निकायबाट स्वीकृत व्यक्ति तथा संस्थामार्फत मात्र सञ्चालन गर्नरगराउन सबै सरोकारवालालाई मन्त्रालयले आग्रह गरेको छ।

suchana_shram2-1024x931-1772174549.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट