नेपाल हेल्थ न्युज, धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसीमा २ करोड ५२ लाख ६० हजार रुपैयाँ बराबरको आर्थिक अनियमितता भएको पुष्टि भएको छ। करिब साढे चार महिना लगाएर गरिएको आन्तरिक छानबिनले औषधि बिक्रीबाट उठेको रकममा हिनामिना भएको देखाएको हो।
गत असोज ३१ गते फार्मेसीमा अनियमितता भएको समाचार प्रकाशित भएपछि प्रतिष्ठानले डा. विष्णु पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिले औषधि खरिद प्रक्रिया, मौज्दात (स्टक) विवरण, बिक्री अभिलेख तथा बिल–भौचरको परीक्षण गरी प्रतिवेदन तयार पारेको जनाएको छ।
स्रोतका अनुसार प्रतिवेदनमा औषधि खरिद, भण्डारण र बिक्री व्यवस्थापनमा गम्भीर त्रुटि औंल्याउँदै २ करोड ५२ लाख ६० हजार रुपैयाँ बराबरको अनियमितता पुष्टि गरिएको उल्लेख छ। प्रतिवेदन प्रतिष्ठानका उपकुलपति र रजिस्ट्रारलाई बुझाइसकिएको भए पनि हालसम्म सार्वजनिक गरिएको छैन।
छानबिनमा वर्तमान तथा पूर्व पदाधिकारी, फार्मेसीसम्बद्ध कर्मचारी र आपूर्ति सेवासँग सम्बन्धित केही व्यक्तिको संलग्नता देखिएको बताइएको छ। समितिले संलग्न व्यक्तिको नाम र उनीहरूसँग जोडिएको भनिएको रकमसमेत प्रतिवेदनमा स्पष्ट रूपमा उल्लेख गरेको स्रोतको दाबी छ।
यता प्रतिष्ठान प्रशासनले भने प्रतिवेदन कानुनी प्रक्रिया अनुसार अघि बढाइने जनाएको छ। उपकुलपतिले कानुनी सल्लाहकारसँग राय माग गरिएको र त्यसपछि आवश्यक कारबाही प्रक्रिया अघि बढाइने बताएका छन्।
नेपाल सरकारले बिरामीलाई सहुलियत दरमा गुणस्तरीय औषधि उपलब्ध गराउने उद्देश्यले २०७३ सालदेखि प्रतिष्ठानमा आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको थियो। तर सोही फार्मेसीमै ठूलो आर्थिक अनियमितता पुष्टि भएपछि पारदर्शिता र जवाफदेहितामाथि गम्भीर प्रश्न उठेको छ।
राजनीतिक तथा नागरिक क्षेत्रका प्रतिनिधिहरूले प्रतिवेदन तत्काल सार्वजनिक गर्न र दोषी देखिएकामाथि कडा कारबाही गर्न माग गरेका छन्।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
