नेभिगेशन

हिँडेर बर्थिङ सेन्टर जाँदै गरेकी महिलाले बाटोमै जन्माइन् शिशु

add final

नेपाल हेल्थ न्युज, धनगढी। बाजुराको एक दुर्गम बस्तीमा गर्भवती महिलाले स्वास्थ्य संस्था पुग्न नपाउँदै बाटोमै शिशुलाई जन्म दिएकी छन्।

स्वामिकार्तिक खापर गाउँपालिका–२ भैसागाडकी करिब २२ वर्षीया दुइला भण्डारीलाई सुत्केरी व्यथा सुरु भएपछि परिवारका सदस्यले उनलाई नजिकैको फयालगाउँमा रहेको आधारभूत स्वास्थ्य एकाइतर्फ पैदलै लैजाँदै थिए। तर स्वास्थ्य संस्था पुग्नुअघि नै बाटोमै उनले शिशुलाई जन्म दिएकी हुन्।

घरबाट स्वास्थ्य केन्द्र पुग्न करिब एकदेखि डेढ घण्टा पैदल हिँड्नुपर्ने दूरी रहेको बताइएको छ। स्वास्थ्य संस्थातर्फ जाँदै गर्दा बाटोमै उनको पीडा बढेपछि अगाडि बढ्न नसक्ने अवस्था आएको थियो।

घटनाबारे जानकारी पाएलगत्तै स्वास्थ्य एकाइमा कार्यरत अनमी विस्ना रोकाया घटनास्थल पुगेर आवश्यक सहयोग गर्दै सुरक्षित रूपमा प्रसूति गराएकी थिइन्। समयमै स्वास्थ्यकर्मी पुगेकाले आमा र नवजात शिशु दुवै सुरक्षित रहेको जनाइएको छ। हाल उनीहरू दुवै घर फर्किसकेको र स्वास्थ्य अवस्था सामान्य रहेको स्थानीयले बताएका छन्।

वडा नम्बर २ का अध्यक्ष विष्णुबहादुर बुढाका अनुसार दुर्गम भूगोल र स्वास्थ्य संस्था टाढा भएकाले समयमै अस्पताल पुर्‍याउन कठिन हुने गरेको छ। गाउँमा कच्ची सडक भए पनि नियमित सवारी साधन नचल्ने र एम्बुलेन्स सेवा नहुँदा गर्भवती महिलालाई जोखिम मोलेरै पैदल स्वास्थ्य संस्थासम्म लैजानुपर्ने बाध्यता रहेको उनले बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट