नेपाल हेल्थ न्युज, दाङ । अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रस्तावित ४ सय शय्याको अस्पताल भवन निर्माण प्रक्रिया अघि बढ्न नसकेको बताएका छन्। कार्यकाल समाप्तिको सन्दर्भमा सार्वजनिक गरिएको प्रतिवेदनमा उनले यस आयोजनासम्बन्धी चुनौतीहरू औंल्याएका हुन्।
उनका अनुसार चालू आर्थिक वर्षमा विनियोजित बजेटभन्दा ठूलो आकारको ठेक्का प्रक्रिया अघि बढाउनुपर्ने अवस्था भए पनि बहुवर्षीय स्रोत सुनिश्चित नभएकाले काम अघि बढ्न सकेको छैन। यही कारणले निर्धारित बजेटसमेत पूर्ण रूपमा खर्च हुन नसक्ने संकेत देखिएको उनले बताएका छन्।
यदि बहुवर्षीय आयोजनाका लागि आवश्यक स्रोतको स्वीकृति नआएमा अस्पताल भवन निर्माण कार्य अन्योलमा पर्ने जोखिम रहेको छ। यससँगै भवन निर्माणका लागि छुट्याइएको करिब ८८ करोड रुपैयाँ उपयोग हुन नसकी फ्रिज हुनसक्ने अवस्था देखिएको छ।
प्रतिष्ठानमा स्वास्थ्य सेवा विस्तार भइरहेका बेला आवश्यक भौतिक संरचनाको अभावले नयाँ सेवा सञ्चालनमा कठिनाइ भइरहेको छ। ४ सय शय्याको अस्पताल निर्माणमा ढिलाइ हुँदा समग्र सेवा विस्तार योजनामा असर परेको छ।
प्रतिष्ठानका निमित्त उपकुलपति तथा रजिस्ट्रार प्रा। श्याम लम्सालका अनुसार भवन निर्माणका लागि आवश्यक सबै प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा प्रस्ताव पेश भइसकेको छ। अब बन्ने नयाँ सरकारले यस विषयलाई प्राथमिकतामा राख्दै समाधान निकाल्ने अपेक्षा गरिएको छ।
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
