नेभिगेशन

मेडिकल काउन्सिलद्वारा डा. साह एक साताका लागि निलम्बित

नेपाल हेल्थ न्युज, काठमाडौं । दन्त उपचारमा लापरबाही गरेको निष्कर्षसहित नेपाल मेडिकल काउन्सिलले एक दन्त चिकित्सकलाई सात दिनका लागि निलम्बन गरेको छ।

काउन्सिलको फागुन २८ गते बसेको बैठकले मीनभवनस्थित डेन्टल भिजन प्रालिमा कार्यरत डा. अजयकुमार साहलाई एक सातासम्म सेवा गर्न नपाउने निर्णय गरेको हो। उहाँविरुद्ध परेको उजुरीमाथि अनुसन्धान गर्दा उपचार प्रक्रियामा त्रुटि भेटिएपछि यस्तो कारबाही गरिएको काउन्सिलले जनाएको छ।

पीडित सबु चौधरीले भने करिब एक वर्षसम्म काउन्सिलबाट सुनुवाइ नभएपछि उपभोक्ता अदालतमा मुद्दा दायर गर्नुभएको थियो। अदालतले तीन महिनाभित्रै फैसला सुनाउँदै गत माघमा चिकित्सकीय लापरबाही पुष्टि गरेको थियो। अदालतले चौधरीलाई ५ लाख ९२ हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको थियो।

पीडित पक्षका कानुन व्यवसायीका अनुसार अदालतको निर्णयपछि मात्रै काउन्सिलले कारबाही प्रक्रिया अघि बढाएको हो। काउन्सिलको ढिलाइका कारण धेरै उजुरीहरू लामो समयसम्म विचाराधीन रहने र पीडितले समयमै न्याय नपाउने अवस्था रहेको उनीहरूको भनाइ छ।

चौधरी गत वर्ष चैत ५ गते दाँतको समस्याका कारण उक्त क्लिनिकमा उपचारका लागि गएकी थिइन्। चार चरणमा गरिएको उपचारमध्ये अन्तिम चरण निकै पीडादायक रहेको भन्दै उनले उजुरी दिएकी हुन्। उजुरीमा बिना एनेस्थेसिया उपचार गरिएको तथा पटक–पटक एक्स–रे गर्दा असह्य पीडा भएको उल्लेख गरिएको छ।

उपचारपछि गिजामा संक्रमण, सुन्निने र असहजता देखिँदा पनि चिकित्सकले त्यसलाई गम्भीर रूपमा नलिएको आरोप छ। पछि अन्य चिकित्सकसँग जाँच गर्दा रुट क्यानल उपचार अपूरो रहेको पत्ता लागेको र अन्ततः दाँत नै निकाल्नुपर्ने अवस्था आएको बताइएको छ।

अपुरो उपचारका कारण स्वास्थ्य, अध्ययन, काम र सामाजिक जीवनमा असर परेको तथा आत्मविश्वाससमेत घटेको पीडितको दाबी छ।

काउन्सिलले भने अस्पतालका कागजात, चिकित्सकको बयान र विज्ञको रायका आधारमा उपचारमा कमजोरी भएको ठहर गर्दै निलम्बनको निर्णय गरेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट