नेभिगेशन

नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान साम्बाको घुँडाको सफल शल्यक्रिया

नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै न्युजिल्यान्डको  अकल्यान्डमा  चिकित्सक साइमन नेतृत्वको टोलीले उपचार सम्पन्न गरेको उल्लेख गरेकी छन्।

खाडी क्षेत्रमा उपचारका लागि यात्रा सहज नभएको कारण उनले न्युजिल्यान्डमै शल्यक्रिया गराएकी हुन्। अब उनी चिकित्सकको निगरानीमा पुनर्स्थापना (रिह्याब) प्रक्रिया सुरु गर्नेछिन्। स्वास्थ्य अवस्थामा सुधार आएपछि कतारस्थित एस्पेटारमा थप रिह्याब गर्ने योजना पनि उनले सुनाएकी छन्।

अष्ट्रेलियन ‘ए’ लिग अन्तर्गत वेलिङटन फोनिक्सबाट खेल्दै आएकी साम्बा गत पुसमा खेलका क्रममा घाइते भएकी थिइन्। गोलरक्षकसँगको ठोक्किँदा उनको दायाँ घुँडामा एसीएल चोट लागेको थियो।

चोटपछिको उपचार प्रक्रियामा आर्थिक समस्या आएको भन्दै उनले केही समयअघि सहयोगको अपिल गरेकी थिइन्। त्यसपछि विश्वभर रहेका नेपाली समर्थकहरूले सहयोग जुटाएका थिए। पछि अखिल नेपाल फुटबल संघले पनि आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिएको थियो।

उपचारका क्रममा साथ दिने क्लब, व्यवस्थापन टोली तथा न्युजिल्यान्डस्थित नेपाली समुदायप्रति उनले आभार व्यक्त गरेकी छन्। समर्थकहरूको साथ र हौसलाले आफूलाई पुनः मैदान फर्किन थप ऊर्जा मिलेको बताउँदै अबको ध्यान पूर्ण रूपमा फिटनेस र पुनरागमनमा केन्द्रित रहने उनको भनाइ छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट