नेभिगेशन

‘पिक एप्स’बाट आँखा परीक्षण गरिँदै

नेपाल हेल्थ न्युज, चितवन । माडी नगरपालिकामा रहेका स्वास्थ्य संस्थामा ‘मोबाइल एप्स’बाट आँखा परीक्षण गरिने भएको छ । भरतपुर आँखा अस्पतालले नेपाल नेत्रज्योति सङ्घ केन्द्रको समन्वयमा माडी नगरपालिकाका– १० स्वास्थ्य केन्द्रमा आँखा परीक्षण गर्न लागेको हो । पोर्टेबल आई एक्जामिनेशन किट (पिक एप्स)को प्रयोग गरेर आँखा परीक्षण गरिने छ।

नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित विराटनगर आँखा अस्पताल र सगरमाथा चौधरी आँखा अस्पतालले स्थानीय तहसँगको समन्वयमा सफलतापूर्वक गरिरहेको यो प्रविधि गर्न लागिएको हो । भरतपुर आँखा अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार विराटनगर आँखा अस्पताल र सगरमाथा चौधरी आँखा अस्पताललमा सफलतापूर्वक रोग पहिचान भएपछि यहाँ पनि यो प्रविधिको प्रयोग गर्न लागिएको हो ।

नगरपालिकासँग सहकार्य गरेर त्यहाँका प्राविधिकलाई यही चैत महिनाको २३ र २४ गते तालिम दिन लागिएको छ । एउटा स्वास्थ्य केन्द्रबाट दुई जना र महानगरको स्वास्थ्य विभागका तीन जनालाई भरतपुर आँखा अस्पतालमा तालिम दिइँदैछ।

केन्याले विकास गरेको ‘मोबाइल एप्स’मार्फत आँखाको परीक्षण गरिने घिमिरेले बताए । स्वास्थ्य केन्द्रलाई एप्स जडित मोबाइल उपलब्ध गराइनेछ । केन्द्रमा अन्य उपचारका लागि आएका बिरामीको टचलाइट र मोबाइलका माध्यमबाट परीक्षण गरिनेछ ।

आँखाको अवस्थाकाबारेमा सो एप्सले सम्बन्धित बिरामी, त्यहाँको स्वास्थ्य केन्द्र र भरतपुर आँखा अस्पतालको मोबाइलमा सूचना जानेछ । त्यही आधारमा बिरामीले आँखाको अवस्थालाई हेरेर थप उपचार गर्नुपर्ने वा नपर्ने निर्क्यौल गर्नेछन् । थप उपचार चाहिएमा जानुपर्ने ठाउँ एसएमएसमार्फत जानकारी गराइनेछ । एसएमएस हेरेर प्राविधिकले सुझाव दिनेछन्।

नेपाल नेत्रज्योति सङ्घ चितवनले भरतपुर आँखा अस्पताल सञ्चालन गरेको हो । सङ्घका अध्यक्ष जयराम श्रेष्ठका अनुसार पहिलो चरणमा माडीमा यो कार्यक्रम सुरु गरिनेछ । त्यसपछि कालिका नगरपालिकासँग सहकार्य गरेर यही एप्समार्फत विद्यालयका विद्यार्थीको आँखा परीक्षण गरिनेछ ।

सोपश्चात् नवलपरासी बर्दघाट–सुस्तापूर्वको बौदिकाली गाउँपालिकामा घरघरमा गएर आँखा परीक्षण गर्ने कार्यक्रम रहेको छ । यसरी आँखा परीक्षण गर्दा समयमा आमनागरिकले आँखाको उपचार पाउने उहाँको भनाइ छ । आँखामा समस्या नभएसम्म उपचार नगर्ने परिपाटी रहेको भन्दै उहाँले यसबाट आँखाका बिरामीको खोजी गरिने बताए । समयमा नै बिरामी पहचिान भएमा राम्रो उपचार पाउने, खर्च कम लाग्ने र जोखिम घट्ने उहाँले भनाइ छ ।

यसैबीच, आज ४८औँ नेपाल नेत्रज्योति सङ्घ दिवसका अवसरमा बिहान भरतपुर आँखा अस्पतालमा शल्यक्रिया गरेर बसेका बिरामीलाई फलफूल वितरण गरिएको छ । दिउँसो भरतपुर कारागार कार्यालयमा आँखा जाँच गरिँदैछ ।

आँखा अस्पतालले नौ वटा जिल्लामा २० वटा आँखा उपचार केन्द्र, दुई सर्जिकल सेन्टर, दुई वटा सेकेण्डरी अस्पताल, एउटा सिटी क्लिनिक सञ्चालन गरेको छ । साथै वरपरका थप पाँच जिल्लामा शिविरहरु सञ्चालन गर्ने गरेको छ । वार्षिक रुपमा तीन लाख हाराहारीलाई बहिरङ सेवा र १२ हजारभन्दा बढीको शल्यक्रिया गर्दै आएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट