नेभिगेशन

संखुवासभा अस्पतालमा डायलाइसिस सेवा सुरु

नेपाल हेल्थ न्युज, संखुवासभा । संखुवासभा जिल्ला अस्पतालमा पहिलो पटक मिर्गौला रोगीका लागि डायलाइसिस सेवा सञ्चालनमा आएको छ। अस्पतालले पाँच शैय्याबाट सेवा सुरु गर्दै बिरामीलाई निस्शुल्क उपचार उपलब्ध गराउन थालेको जनाएको छ।

अस्पताल प्रशासनका अनुसार यस सेवाको सुरुवातसँगै स्थानीय बिरामीहरूले अब आफ्नै जिल्लामै उपचार पाउने भएका छन्। यसअघि मिर्गौला रोगीहरूलाई डायलाइसिसका लागि विराटनगर, धरान वा काठमाडौं जानुपर्ने बाध्यता थियो।

नयाँ सेवाको उद्घाटनसँगै खाँदबारी नगरपालिका–९ की ४८ वर्षीया एक महिलालाई पहिलो पटक डायलाइसिस सेवा प्रदान गरिएको अस्पतालले जानकारी दिएको छ। ती बिरामी यसअघि बाहिरी जिल्लामा उपचार गराउँदै आएकी थिइन्।

डायलाइसिस सेवा सञ्चालनका लागि आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गरिएको अस्पतालले जनाएको छ। सेवा सञ्चालनमा ३ जना तालिमप्राप्त चिकित्सक, ४ जना नर्स र १ जना टेक्निसियन खटिएका छन्।

यस सेवा विस्तारका लागि स्थानीय तहहरूले पनि आर्थिक सहयोग गरेका छन्। खाँदबारी नगरपालिकाले ५ लाख रुपैयाँ र चिचिला गाउँपालिकाले २ लाख रुपैयाँ सहयोग उपलब्ध गराएका छन्।

स्थानीय स्तरमै यस्तो सेवा सुरु भएपछि मिर्गौला रोगीहरूलाई समय, खर्च र यात्राको झन्झटबाट राहत मिल्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट