नेपाल हेल्थ न्युज, काभ्रे । बर्डफ्लु रोगको सङ्क्रमणको जोखिम हुन नदिन काभ्रे र सिन्धुपाल्चोकमा उच्च सतर्कता अपनाइने भएको छ। यसबारे सरोकारवालाले छलफल गरी परीक्षण तथा निगरानी बढाउन प्रशासनलाई सुझाव दिँदै दुई जिल्लामा बर्डफ्लु भित्रने सम्भावना न्यून रहने बताएका छन्।
जिल्ला पशुसेवा कार्यालय धुलिखेलले काभ्रे र सिन्धुपाल्चोकमा बर्डफ्लु सङ्क्रमण भित्रन नदिन उच्च सतर्कता अपनाउने निर्णयसमेत गरेको छ। देशका केही स्थानमा पालिएका कुखुरामा बर्डफ्लु सङ्क्रमण देखिएपछि यी जिल्लामा पनि जोखिम हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षाका उपाय कडा पार्न लागिएको हो।
यस्तै कार्यालयले दुई जिल्लास्थित सीमानाकामा निगरानी कडा बनाउने र कुखुरा तथा अन्य पन्छी पालिने फार्महरूको नियमित निरीक्षण गर्ने निर्णय गरेको छ। विशेषगरी तराई क्षेत्रबाट काभ्रेपलाञ्चोक प्रवेश गर्ने मुख्य नाका मङ्गलटारमा कडाइका साथ जाँच गरिनेछ।
साथै राजधानीको पूर्वीनाका साँगा तथा नालालगायत काठमाडौं उपत्यकाबाट काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जाने नाकाहरूमा पनि निगरानी बढाइने छ। यससँगै बर्डफ्लु रोगको जोखिम र त्यसका असरबारे चेतनामूलक एवं प्रचारप्रसारका कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरिएको छ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले मंगलटार नाकामा प्राविधिक जनशक्ति थपेर परीक्षणलाई कडाइका साथ लागू गरिने बताए। उनका अनुसार पूर्वी क्षेत्रबाट आउने कुखुराको नमूना तत्काल परीक्षण गर्ने व्यवस्था मिलाइनेछ। पशु कार्यालय प्रमुख बज्रकिशोर ठाकुरले बर्डफ्लु रोग प्रवेश हुन नदिन कार्यालयले अन्य निकायसँग पनि समन्वय गरी आवश्यक तयारी गरिरहेको बताए।
पर्वत अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट
आइतबार, कात्तिक १५, २०८३
अस्पताल उद्घाटन विवादमा गोली लागेर घाइते पासवानको टीयू शिक्षण अस्पतालमा उपचार हुँदै
आइतबार, कात्तिक १५, २०८३
भारतमा १३७ प्रकारका क्यान्सर औषधिको मूल्य घट्दै, व्यापारिक नाफा ३० प्रतिशतमा सीमित
आइतबार, कात्तिक १५, २०८३
नेपाललाई मेडिकल हब बनाउने सरकारी तयारी, कार्यदल गठन गरिने
आइतबार, कात्तिक १५, २०८३
