नेभिगेशन

जेनजी आन्दोलनका घाइते भेट्न गृहमन्त्री गुरुङ केएमसी अस्पतालमा

नेपाल हेल्थ न्युज, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको अवस्था बुझ्न काठमाडौँस्थित केएमसी अस्पतालको भ्रमण गर्नुभएको छ। उहाँ विमानस्थल निरीक्षणपछि सिधै अस्पताल पुग्नुभएको बताइएको छ।

अस्पतालमा उपचाररत घाइतेहरूसँग भेटघाट गर्दै मन्त्री गुरुङले उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै उपचारमा संलग्न चिकित्सकहरूसँग पनि छलफल गर्नुभएको थियो।

अस्पताल प्रशासनका अनुसार अधिकांश घाइतेहरू उपचारपछि घर फर्किसकेका छन् भने केही बिरामी अझै निगरानीमा राखेर उपचार भइरहेको छ।

उक्त अस्पतालमा पूर्व सांसद तथा चिकित्सक डा. सुनिल शर्माले घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउँदै आउनुभएको जानकारी दिइएको छ। उहाँले सबै घाइतेलाई सकेसम्म राम्रो सेवा प्रदान गर्ने प्रयास भइरहेको बताउनुभयो।

भेटका क्रममा मन्त्री गुरुङले डा. शर्माको सेवाप्रति आभार व्यक्त गर्दै यस्तो मानवीय कार्यले समाजमा सकारात्मक सन्देश दिने उल्लेख गर्नुभयो। साथै उहाँले उपचार सेवामा निरन्तरता दिन आग्रह समेत गर्नुभएको थियो। मन्त्री गुरुङ रातिको समयमा अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे प्रत्यक्ष जानकारी लिनुभएको जनाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट