नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारले विभिन्न क्षेत्रका तालिमी श्रमिकलाई कानुनबमोजिम सुविधा नदिइएको गुनासो बढ्दै गएको भन्दै सबै रोजगारदातालाई अनिवार्य रूपमा न्यूनतम पारिश्रमिक तथा सामाजिक सुरक्षा सुविधा उपलब्ध गराउन आग्रह गरेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार श्रम ऐन, २०७४ को दफा १८ उपदफा (३) मा तालिमीका रूपमा काममा लगाइएका व्यक्तिलाई समेत न्यूनतम पारिश्रमिक, बिरामी विदा, उपदान, सञ्चयकोष, बीमा लगायतका सामाजिक सुरक्षा सुविधा दिनुपर्ने स्पष्ट व्यवस्था रहेको उल्लेख गरिएको छ।
मन्त्रालयका अनुसार पछिल्लो समय विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा नर्सिङ्ग स्टाफ, निजी तथा संस्थागत विद्यालयका शिक्षक–कर्मचारी तथा अन्य प्रतिष्ठानमा कार्यरत तालिमी श्रमिकहरूले तोकिएको न्यूनतम पारिश्रमिक र सुविधा नपाएको भन्दै उजुरी दिएका छन्। यी गुनासोप्रति मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विज्ञप्तिमा प्रचलित कानुनबमोजिम उपलब्ध गराउनुपर्ने न्यूनतम पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी सबै व्यवस्था पूर्ण रूपमा कार्यान्वयन गर्न सबै रोजगारदातालाई आग्रह गरिएको छ।
साथै, यदि कुनै रोजगारदाताले कानुनविपरीत श्रमिकलाई न्यूनतम पारिश्रमिक तथा अन्य सुविधाबाट वञ्चित गराएको पाइएमा प्रचलित कानुनअनुसार कारबाही हुने स्पष्ट चेतावनी पनि दिइएको छ। मन्त्रालयले सबै सम्बन्धित प्रतिष्ठान, संस्था तथा सरोकारवालाहरूलाई कानुनको स्वतःस्फूर्त पालना गर्न आग्रह गरेको छ।
विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण
बुधबार, चैत २५, २०८२
आज दशौँ स्वास्थ्य बीमा दिवस
बुधबार, चैत २५, २०८२
स्वास्थ्य चुनौती समाधान गर्न सरोकारवालाबीच सहकार्य अपरिहार्य : मन्त्री मेहता
मंगलबार, चैत २४, २०८२
