नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले सामाजिक सञ्जालमार्फत भइरहेको ‘अनलाइन परामर्श’ र असुरक्षित स्वास्थ्य सल्लाहप्रति गम्भीर चिन्ता व्यक्त गर्दै कडा निर्देशन जारी गरेको छ।
काउन्सिलले शुक्रबार जारी गरेको सूचनामा टिकटक, इन्स्टाग्राम र फेसबुकजस्ता प्लेटफर्महरूमा चिकित्सकहरूले बिरामीसँग सम्बन्धित भिडियो सामग्री सार्वजनिक गर्ने, परीक्षणबिना औषधि सिफारिस गर्ने तथा रोगको उपचारबारे सुझाव दिने कार्य बढ्दै गएको उल्लेख गरेको छ।
सूचनामा स्वास्थ्य सेवा अत्यन्त संवेदनशील क्षेत्र भएकोले उचित परीक्षण, आवश्यक जाँच तथा दर्ता प्राप्त चिकित्सकको प्रत्यक्ष मूल्यांकनबिना औषधि सेवन गर्न सल्लाह दिनु जोखिमपूर्ण हुने स्पष्ट पारिएको छ। यसले बिरामीको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने, अनावश्यक जटिलता निम्त्याउन सक्ने तथा दीर्घकालीन हानि पुर्याउन सक्ने काउन्सिलले जनाएको छ।
काउन्सिलले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई बिरामीको गोपनीयता कायम राख्न विशेष आग्रह गरेको छ। अत्यावश्यक अवस्थामा मात्र भिडियो सामग्री सार्वजनिक गर्न पाइने र त्यस्तो अवस्थामा पनि बिरामीको अनुहार तथा पहिचान खुल्न नहुने उल्लेख गरिएको छ।
यस्तै, सामाजिक सञ्जालमार्फत परीक्षणबिना औषधि सिफारिस गर्ने कार्य तत्काल बन्द गर्न निर्देशन दिइएको छ। स्वास्थ्यसम्बन्धी कुनै पनि जानकारी वा परामर्श दिँदा वैज्ञानिक आधार, प्रमाणित तथ्य र पेशागत आचारसंहिताको पूर्ण पालना गर्न पनि आग्रह गरिएको छ।
साथै, सर्वसाधारणलाई सामाजिक सञ्जालमा देखिएका अप्रमाणित सल्लाहको आधारमा औषधि प्रयोग नगर्न र योग्य तथा काउन्सिलमा दर्ता भएका चिकित्सकसँग मात्र परामर्श लिन काउन्सिलले अनुरोध गरेको छ। काउन्सिलले यस्तो कार्य निरन्तर गरेमा प्रचलित कानुन तथा काउन्सिलको ऐनअनुसार कारबाही गरिने चेतावनीसमेत दिएको छ।
काउन्सिलका रजिष्ट्रार डा. सतिस कुमार देवद्वारा हस्ताक्षरित उक्त सूचनाले पछिल्लो समय सामाजिक सञ्जालमा बढ्दो स्वास्थ्यसम्बन्धी भ्रामक सामग्रीप्रति नियमन कडा पारिएको छ।
डा. तुषार सरवजनाको लाइसेन्स खारेज
शुक्रबार, वैशाख ४, २०८३
बागमतीका १३ जिल्ला अस्पताललाई प्रादेशिकमा रुपान्तरण गरिने
शुक्रबार, वैशाख ४, २०८३
स्वास्थ्य संस्थामा पनि साताको दुई दिन बिदा लागू
शुक्रबार, वैशाख ४, २०८३


