नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रम गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको बेला स्वास्थ्य बीमा बोर्ड फेरि नेतृत्वविहीन अवस्थामा पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हालैको निर्णयपछि बोर्डको कार्यकारी नेतृत्वमा अन्योल उत्पन्न भएको हो।
स्वास्थ्यमन्त्री निशा मेहताले वैशाख २ गते गरेको निर्णयअनुसार बोर्डका निमित्त कार्यकारी निर्देशक डा. कृष्ण पौडेललाई काज फिर्ता गरी गजेन्द्रनारायण सिंह अस्पतालमा पठाइएको छ।
तर उक्त निर्णयपत्रमा उनलाई स्वास्थ्य बीमा बोर्डको जिम्मेवारी निरन्तर सम्हाल्ने विषय स्पष्ट रूपमा उल्लेख नगरिएकाले नेतृत्वमा शून्यता देखिएको हो।
डा. पौडेल स्वयंले पनि आफूलाई प्राप्त पत्रमा केवल काज फिर्ताको कुरा मात्र उल्लेख भएको र बोर्डको जिम्मेवारीबारे कुनै स्पष्ट निर्देशन नभएको बताएका छन्। उनी केही दिन बोर्ड पुगे पनि थप निर्देशन नआएमा नयाँ कार्यस्थलतर्फ जाने मनस्थितिमा रहेको स्रोतले जनाएको छ।
यसअघि माघ महिनामा तत्कालीन कार्यकारी निर्देशकको राजीनामापछि डा. पौडेललाई नै आर्थिक तथा प्रशासनिक अधिकारसहित बोर्डको नेतृत्व दिइएको थियो। उनको कार्यकालमा केही सुधारका प्रयासहरू भएको बताइए पनि अहिलेको निर्णयले पुनः अनिश्चितता सिर्जना गरेको छ।
उता, स्वास्थ्य बीमा कार्यक्रम स्वयं ठूलो आर्थिक दबाबमा छ। सेवा प्रदायक अस्पतालहरूलाई भुक्तानी दिन नसक्दा कतिपय संस्थाले बीमा सेवा सीमित वा बन्द गर्न थालेका छन्। बोर्डका अनुसार हाल अर्बौं रुपैयाँ बराबरको दाबी भुक्तानी बाँकी रहेको छ र मासिक खर्चसमेत उच्च दरमा बढिरहेको छ।
सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको बजेट प्रारम्भिक महिनामै खर्च भइसकेको अवस्थामा थप स्रोत व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। मन्त्रालयले आफ्नै केही कार्यक्रमको बजेट कटौती गरेर अस्थायी रूपमा राहत दिने प्रयास गरे पनि दीर्घकालीन समाधान अझै स्पष्ट छैन।
स्वास्थ्य क्षेत्रका जानकारहरूका अनुसार यस्तो संवेदनशील अवस्थामा नेतृत्व अभावले समस्या झन् जटिल बन्ने खतरा रहेको छ। उनीहरूले स्पष्ट नेतृत्व, पर्याप्त बजेट व्यवस्थापन र नीतिगत स्थिरता बिना स्वास्थ्य बीमा कार्यक्रमलाई दीगो रूपमा सञ्चालन गर्न कठिन हुने बताएका छन्।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
