नेपाल हेल्थ न्युज, काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान मा हातहतियारसहित प्रवेश गरी स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार र धम्की दिएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ। घटनापछि स्वास्थ्यकर्मीहरूले सुरक्षाको प्रत्याभूति नभएसम्म आकस्मिक बाहेकका सेवा स्थगित गरेका छन्।
स्वास्थ्यकर्मीहरूले दिएको जानकारीअनुसार बुधबार बिहान करिब ९ः४५ बजे आफूलाई ‘सामाजिक अभियन्ता’ बताउने केही व्यक्तिहरू मदिरा सेवन गरेको अवस्थामा हातहतियारसहित अस्पताल परिसरमा प्रवेश गरेका थिए। उनीहरू विभिन्न विभागमा पुगेर ड्युटीमा रहेका कर्मचारीहरूलाई गाली–गलौज गर्नुका साथै धम्कीपूर्ण व्यवहारमा उत्रिएको आरोप छ।
निवेदनमा उल्लेख गरिएअनुसार ती व्यक्तिहरूले अस्पतालभित्रै आतंक सिर्जना गर्ने शैलीमा प्रस्तुत हुँदै कर्मचारीहरूलाई अपमानजनक व्यवहार गरेका थिए। उनीहरूको गतिविधिले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा डर–त्रासको वातावरण सिर्जना भएको स्वास्थ्यकर्मीहरूले बताएका छन्।
घटनाको केही घण्टापछि दिउँसो करिब ३ः५० बजे सोही समूह पुनः अस्पताल परिसरमा प्रवेश गरी कर्मचारीहरूलाई धम्क्याउने र आक्रामक व्यवहार दोहोर्याएको आरोप पनि लगाइएको छ। यसले स्वास्थ्यकर्मीहरू थप असुरक्षित महसुस गर्न बाध्य भएको जनाइएको छ।
चिकित्सक, शिक्षक तथा कर्मचारीहरूले संयुक्त रूपमा प्रतिष्ठान प्रशासनसमक्ष निवेदन बुझाउँदै अस्पतालभित्र कार्यरत जनशक्तिको सुरक्षाको जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने माग गरेका छन्। उनीहरूले घटनामा संलग्न व्यक्तिहरूमाथि तत्काल छानबिन गरी कडा कानुनी कारबाही गर्नुपर्ने बताएका छन्।
‘अस्पताल परिसरमै हातहतियारसहित प्रवेश गरी धम्की दिने जस्ता गतिविधि सह्य हुन सक्दैनन्। यसले सेवा प्रवाहमै गम्भीर असर पार्ने खतरा हुन्छ,’ निवेदनमा उल्लेख छ।
स्वास्थ्यकर्मीहरूले सुरक्षाको प्रत्याभूति नभएसम्म आकस्मिक तथा अत्यावश्यक सेवा बाहेकका सेवा बन्द रहने र संलग्न व्यक्तिहरूले लिखित रूपमा माफी नमागेसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।
यस घटनाको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जिल्ला सुरक्षा कार्यालय जुम्ला र जिल्ला प्रशासन कार्यालय जुम्लालाई समेत गराइएको छ। यसैबीच नेपाल चिकित्सक संघले पनि घटनाको निन्दा गर्दै दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।
१७ जना डाक्टरको नाम दर्ता खारेज (सूचीसहित)
शुक्रबार, वैशाख ११, २०८३
गण्डकीमा ५ करोडको आपतकालीन स्वास्थ्य कोष स्थापना
शुक्रबार, वैशाख ११, २०८३
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विवाद समाधानपछि सेवा पुनः सुचारु
बिहीबार, वैशाख १०, २०८३
स्वास्थ्य बीमा बोर्डको नाम र लोगो प्रयोग भएका अनाधिकृत पेज २४ घण्टाभित्र हटाउन निर्देशन
बिहीबार, वैशाख १०, २०८३

