नेभिगेशन

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विवाद समाधानपछि सेवा पुनः सुचारु

add final

नेपाल हेल्थ न्युज, जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केही दिनदेखि देखिएको तनावपूर्ण अवस्था अन्ततः संवादमार्फत समाधान भएको छ। ड्युटीमा रहेका चिकित्सकमाथि अभद्र व्यवहार भएको घटनापछि रोकिएको अस्पताल सेवा बुधबार दिउँसोदेखि पुनः सुचारु भएको प्रतिष्ठानले जनाएको छ।

मंगलबार ‘सामाजिक अभियन्ता’ का नाममा आएका केही युवाहरूले प्रतिष्ठानका विभिन्न विभागमा प्रवेश गरी चिकित्सक तथा स्वास्थ्यकर्मीप्रति गालीगलौज र धम्कीपूर्ण व्यवहार गरेपछि अस्पताल परिसरको वातावरण तनावग्रस्त बनेको थियो।

उक्त घटनाको विरोधमा स्वास्थ्यकर्मीहरूले बुधबार बिहानदेखि आकस्मिक सेवाबाहेकका सबै सेवा बन्द गरेका थिए।

बुधबार बिहान १० बजेदेखि सुरु भएको वार्तामा ‘अभियन्ता’का रूपमा प्रस्तुत उपेन्द्र बुढथापा र नरेन्द्र बुढथापा लगायतले आफ्नो व्यवहारप्रति गल्ती स्वीकार गर्दै पीडित चिकित्सकहरूसँग माफी मागेका छन्। साथै, भविष्यमा स्वास्थ्यकर्मीहरूलाई असुरक्षित महसुस हुने कुनै पनि गतिविधि नगर्ने लिखित प्रतिबद्धता पनि जनाइएको छ।

प्रतिष्ठानका रजिष्ट्रार तथा प्रवक्ता लक्ष्मीचन्द्र महतका अनुसार वार्तापछि दुवै पक्षबीच आपसी समझदारी कायम भएको छ। “हिजोको घटनाबाट प्रभावित चिकित्सकहरू र युवाबीच सौहार्दपूर्ण वातावरणमा छलफल भयो,” महतले बताए, “युवाहरूले माफी मागे, हामीले पनि सेवा प्रवाहमा सुधारका लागि रचनात्मक सुझावलाई स्वागत गर्ने प्रतिबद्धता जनाएका छौँ।”

विवाद समाधानका लागि प्रतिष्ठानका उपकुलपति डा. पुजन रोकाया, रजिष्ट्रार महत, डीन डा. प्रेनित पोखरेल तथा अन्य पदाधिकारीहरूले सहजीकरण गरेका थिए। त्यसैगरी, नेपाल चिकित्सक संघका प्रतिनिधिहरूले पनि गृह मन्त्रालयमार्फत समस्या समाधानका लागि पहल गरेका थिए।

संघका महासचिव डा. सञ्जिव तिवारीले घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याई आवश्यक कारबाही गर्न माग गरेका छन्। विवाद समाधानसँगै प्रतिष्ठानका सम्पूर्ण स्वास्थ्य सेवा पुनः सामान्य रूपमा सञ्चालनमा आएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट