नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारले बालबालिकामा देखिने कुपोषण समस्या न्यूनीकरण गर्ने उद्देश्यले देशव्यापी रूपमा ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सुरु गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैशाख १५ गतेदेखि ३० गतेसम्म सञ्चालन गरिरहेको यस अभियानले विशेषगरी छ महिनादेखि ५९ महिनासम्मका बालबालिकाको पोषण अवस्थाको पहिचान, मूल्याङ्कन तथा आवश्यक उपचारमा ध्यान केन्द्रित गरेको जनाएको छ।
मन्त्रालयका सचिव डा. विकास देवकोटाका अनुसार कुपोषणको समयमै पहिचान गरी उचित उपचार उपलब्ध गराउनु नै अभियानको मुख्य उद्देश्य हो।
‘कुपोषणको समयमै पहिचान, सही उपचार कुपोषणमुक्त पुस्ताको आधार’ भन्ने नारासहित सञ्चालन गरिएको यस अभियानले दीर्घकालीन स्वास्थ्य समस्या न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ।
अभियान अन्तर्गत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा नजिकका स्वास्थ्य संस्थामार्फत बालबालिकाको पाखुराको मध्य भागको घेरा मापन गरी पोषण अवस्था मूल्याङ्कन गरिँदै आएको छ। कुपोषित पहिचान भएका बालबालिकालाई बहिरङ्ग उपचार केन्द्रमार्फत तयारी उपचारात्मक खाना निःशुल्क उपलब्ध गराइने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।
डा. देवकोटाले बालबालिकाको पोषण अवस्था समयमै पहिचान गर्न सकिएमा गम्भीर स्वास्थ्य जटिलता रोक्न सकिने उल्लेख गर्दै समुदायस्तरमै सेवा विस्तार गरिएकाले अभिभावकलाई सहज पहुँच सुनिश्चित भएको बताए। अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह, स्वास्थ्यकर्मी तथा स्वयंसेविकाको सक्रिय भूमिका आवश्यक रहेको उनले जोड दिए।
उक्त अभियान स्वास्थ्य संस्था, खोप केन्द्र, सामुदायिक क्लिनिक, वडा कार्यालय, सामुदायिक भवन तथा प्रारम्भिक बाल विकास केन्द्रमार्फत सञ्चालन भइरहेको छ। मन्त्रालयले अभिभावकलाई आफ्ना बालबालिकाको नियमित पोषण जाँच गराई कुपोषणबाट जोगाउन अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ।
सरकारद्वारा मन्त्रालय पुनर्संरचना: ४ मन्त्रालय खारेज हुँदै
सोमबार, वैशाख २१, २०८३
स्वास्थ्य क्षेत्रका विभिन्न पदाधिकारी पदमुक्त, को–को परे ? (नामसहित)
आइतबार, वैशाख २०, २०८३
नर्समाथि दुर्व्यवहारको घटनाप्रति नेपाल नर्सिङ संघको कडा आपत्ति, कारबाहीको माग
आइतबार, वैशाख २०, २०८३
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूचीसहित)
आइतबार, वैशाख २०, २०८३

