नेभिगेशन

सरकारी कार्यालयहरूमा स्वच्छता अभियान सुरु, स्वास्थ्यमन्त्री मेहेताले गरिन् उद्घाटन

add final

नेपाल हेल्थ न्युज, काठमाडौं । प्रशासनिक सेवामा स्वच्छता, मर्यादा र वातावरणमैत्री वातावरण कायम गर्ने उद्देश्यसहित देशभर आजदेखि राष्ट्रिय सरसफाइ सप्ताह सुरु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहेताले वीर अस्पतालमा आयोजित सरसफाइ कार्यक्रममा भाग लिएर अभियानको औपचारिक उद्घाटन गरेकी छन्। सरकारले जेठ १ गतेसम्म सङ्घ, प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालयहरूमा यो अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विशेष मार्गदर्शन जारी गर्दै सङ्घीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै निकायहरूलाई अभियानमा सक्रिय सहभागी हुन निर्देशन दिएको छ। सरकारले जारी गरेको ‘सरसफाइ सप्ताह सञ्चालनसम्बन्धी मार्गदर्शन, २०८३’ अनुसार, न्यून लागतमा अधिकतम प्रतिफल प्राप्त हुने गरी सरसफाइ मापदण्ड कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ।

सरकारी कार्यालयमा नियमित सरसफाइ र फोहोर व्यवस्थापनको स्पष्ट मापदण्ड नहुँदा सेवा प्रवाह र कर्मचारी तथा सेवाग्राहीको स्वास्थ्यमा नकारात्मक असर परेको पृष्ठभूमिमा यो कदम चालिएको हो। मार्गदर्शनमा उल्लेख छ, “सरकारी निकायहरूमा स्वच्छ र सुरक्षित कार्य वातावरण कायम गर्न प्रभावकारी सरसफाइ व्यवस्थापन आवश्यक छ।”

मार्गदर्शनअनुसार अब सरकारी सूचना बोर्ड, नागरिक बडापत्र र सङ्केत चिह्नहरूलाई स्पष्ट र व्यवस्थित बनाइनेछ। भित्ताहरूको मर्मत र रंगरोगन गरिनेछ भने मुख्य सेवा क्षेत्र र प्रवेशद्वारलाई आकर्षक र सफा राखिने योजना छ।

शौचालयहरू दुर्गन्धरहित, नियमित पानीको व्यवस्था सहित र हात धुने स्थानमा साबुन अनिवार्य हुनेछन्। महिलामैत्री र ‘स्यानिटरी डिस्पोजल’ सुविधा सहित दैनिक सफाइको अभिलेख राख्नुपर्ने नियम लागु गरिएको छ।

फोहोर व्यवस्थापनका लागि कार्यालयहरूले कम्तीमा दुई प्रकारका डस्टबिन राखी कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्नेछ। पुराना सामानहरूको उचित व्यवस्थापन गरिनेछ र खुला रूपमा फोहोर जलाउन पूर्ण प्रतिबन्ध लगाइनेछ।

कार्यालय परिसरको १०० मिटर वरिपरिको क्षेत्र, नाली र ढलहरू सफा राख्नुपर्ने तथा अव्यवस्थित तार वा पोस्टरहरू हटाउनुपर्ने पनि सूचक निर्धारण गरिएको छ। सेवाग्राहीले सम्मानित महसुस गर्ने वातावरण बनाउन हेल्प डेस्क र सूचना प्रणाली पूर्ण रूपमा सञ्चालनमा ल्याइनेछ।

अभियानलाई दिगो बनाउन प्रत्येक निकायले ‘सरसफाइ सम्पर्क व्यक्ति’ तोक्ने, हप्ताको सरसफाइ कार्यतालिका बनाउने र मासिक स्व–मूल्याङ्कन गर्ने व्यवस्था गरिएको छ। अभियानको कार्यान्वयन र अनुगमनको जिम्मेवारी सम्बन्धित निकायका प्रमुखहरूलाई सुम्पिएको छ। यो अभियान सबै सङ्घीय, प्रादेशिक, स्थानीय कार्यालयका साथै सार्वजनिक शैक्षिक संस्थाहरूमा समेत लागू हुनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट