नेभिगेशन

मन्त्रिपरिषद्ले २२ मन्त्रालयलाई १८ मन्त्रालयमा गाभ्ने प्रस्ताव पारित

add final

नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल सरकारले (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गर्दै साविकका २२ मन्त्रालयलाई गाभेर १८ मन्त्रालय कायम गर्ने निर्णय गरेको छ। नयाँ संरचनाअनुसार केही मन्त्रालयको नाम परिवर्तन भएको छ भने कतिपय मन्त्रालयको कार्यक्षेत्रसमेत पुनःव्यवस्थित गरिएको छ।

सरकारको निर्णयअनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अब सूचना प्रविधिसम्बन्धी कार्यसमेत सम्हाल्नेछ। यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्दै आएको सूचना प्रविधिसम्बन्धी काम अब प्रत्यक्ष प्रधानमन्त्री कार्यालय मातहत रहनेछ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा वन तथा वातावरण मन्त्रालयलाई गाभेर “कृषि, वन तथा पर्यावरण मन्त्रालय” बनाइएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय तथा खानेपानी मन्त्रालयका केही कार्यहरू समेटेर “पूर्वाधार विकास मन्त्रालय” गठन गरिने प्रस्ताव छ।

त्यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई गाभेर “भूमि, सहकारी तथा मानव संशाधन मन्त्रालय” गठन हुनेछ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई विस्तार गर्दै “महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय” बनाइएको छ, जसमा सामाजिक सुरक्षा भत्ता वितरणसमेत समेटिएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सामाजिक सुरक्षा बाहेकका काम तथा युवा तथा खेलकुद मन्त्रालयको युवासम्बन्धी जिम्मेवारी समेटेर “युवा, श्रम तथा रोजगार मन्त्रालय” बनाइनेछ। खेलकुदसम्बन्धी जिम्मेवारी भने शिक्षा मन्त्रालयसँग जोडेर “शिक्षा तथा खेलकुद मन्त्रालय” गठन हुनेछ।

सरकारले विज्ञान तथा प्रविधिसम्बन्धी कार्यलाई छुट्टै प्राथमिकता दिँदै “विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय” गठन गर्ने प्रस्ताव गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाम परिवर्तन गरी “स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय” राखिएको छ, जसमा सरसफाइ र खाद्य स्वच्छतासम्बन्धी कार्यक्रम थप गरिएको छ।

यसैक्रममा, सरकारले पाँच मन्त्रालय खारेज गर्ने प्रस्ताव अघि सारेको छ। खारेज हुने मन्त्रालयमा युवा तथा खेलकुद, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, सहरी विकास, वन तथा वातावरण, र खानेपानी मन्त्रालय रहेका छन्।

प्रस्तावित १८ मन्त्रालयको नामसूचीः

१. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
२. गृह मन्त्रालय
३. अर्थ मन्त्रालय
४. परराष्ट्र मन्त्रालय
५. रक्षा मन्त्रालय
६. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
७. ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय
८. कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
९. कृषि, वन तथा पर्यावरण मन्त्रालय
१०. पूर्वाधार विकास मन्त्रालय
११. भूमि, सहकारी तथा मानव संशाधन मन्त्रालय
१२. महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय
१३. युवा, श्रम तथा रोजगार मन्त्रालय
१४. विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय
१५. शिक्षा तथा खेलकुद मन्त्रालय
१६. सञ्चार मन्त्रालय
१७. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
१८. स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट