नेभिगेशन

जनकपुरमा बन्दैछ २०० शय्याको क्यान्सर अस्पताल, ईआईए प्रतिवेदन पास

add final

नेपाल हेल्थ न्युज, जनकपुर । जनकपुरमा निर्माण हुने विनयतारा क्यान्सर अस्पतालको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन स्वीकृत भएको छ। वन तथा वातावरण मन्त्रालयको वातावरण तथा जैविक विविधता महाशाखाले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई पत्राचार गर्दै प्रतिवेदन स्वीकृत गरिएको जानकारी दिएको हो।

धनुषाको जनकपुर उपमहानगरपालिका–२५ मा २०० शय्याको यो अस्पताल निर्माण हुने योजना रहेको छ। अस्पतालका संस्थापक डा. विनय शाहका अनुसार ईआईए प्रतिवेदन स्वीकृत भएपछि अब निर्माण प्रक्रिया अघि बढ्नेछ।

डा. शाहले बताए अनुसार, अस्पताल निर्माणपछि मधेश प्रदेश र आसपासका क्षेत्रका नागरिकले आफ्नो क्षेत्रमा विश्वस्तरीय क्यान्सर उपचार सेवा पाउनेछन्। उनी भन्छन्, “२०२४ बाट निर्माण सुरु गर्ने लक्ष्य राखिएको भए पनि वातावरणीय स्वीकृति लगायत विभिन्न सरकारी प्रक्रियामा समय लाग्दा परियोजना केही ढिला भएको हो।”

डा. शाहले आफ्नो अध्ययन अमेरिका पुगेपछि पनि नेपाल फर्किएर परियोजना अघि बढाएका हुन्। उनी भन्छन्, “म आज जे छु, त्यो नेपालले बनाएको हो। सरकारी विद्यालयमा पढें, सरकारी कोटामै एमबीबीएस गरेँ। अब यही देशको क्यान्सर उपचार क्षेत्रमा योगदान दिन चाहन्छु।”

अस्पताल करिब ४ बिघा क्षेत्रफलमा अत्याधुनिक प्रविधि र दक्ष चिकित्सकको सेवासहित निर्माण गरिनेछ। यसअघि विनयतारा फाउन्डेसनले हरेक वर्ष विश्वका चर्चित चिकित्सकलाई जनकपुरमा ‘क्यान्सर कंग्रेस’ आयोजना गर्दै आएको छ। यस वर्ष सेप्टेम्बरमा सम्मेलनको तयारी भइरहेको छ। फाउन्डेसन अमेरिकामा दर्ता भएको गैरनाफामुखी संस्था हो र यसले क्यान्सरसँग सम्बन्धित सम्मेलन तथा सीएमई कार्यक्रम आयोजना गर्दै आएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट