नेभिगेशन

स्वास्थ्य बिमा पुनर्संरचना बजेटबाटै अघि बढाइने: अर्थमन्त्री वाग्ले

add final

नेपाल हेलथ न्युज, काठमाडौं । आगामी आर्थिक वर्षको बजेटसँगै सरकारले स्वास्थ्य बिमा कार्यक्रम पुनर्संरचना गर्ने तयारी गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय सभामा विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा यसबारे जानकारी दिनुभएको हो।

अर्थमन्त्री वाग्लेका अनुसार, हालको मोडालिटीमा स्वास्थ्य बिमा कार्यक्रम दिगो हुन सकेको छैन। “गत वर्ष स्वास्थ्य बिमाका लागि १० अर्ब रुपैयाँ विनियोजन गरिएको भए पनि २५–३० अर्ब रुपैयाँ बराबरको दाबी आएको र भुक्तानी दिन कठिन भएको छ,” उहाँले बताउनुभयो।

निजी अस्पतालमा अनावश्यक परीक्षण र दुरुपयोग बढेको भन्दै मन्त्री वाग्लेले कार्यक्रमलाई ‘राइट साइज’ गर्नुपर्ने आवश्यकतालाई औँल्याउनुभयो। उहाँले आधारभूत स्वास्थ्य सेवा विपन्न नागरिकको अधिकार भएकाले सरकारले उनीहरूलाई संरक्षण गर्ने तर सक्षम नागरिकलाई योगदानमा आधारित बीमा प्रणालीमा ल्याइने जानकारी पनि दिनुभयो।

उहाँका अनुसार, स्वास्थ्य बिमालाई तीन तहमा पुनर्संरचना गरिनेछ – विपन्न वर्गलाई सरकारी सहायता, मध्यम वर्गलाई योगदानमा आधारित सेवा, र दुरुपयोग नियन्त्रणसहित दीगो प्रणाली निर्माण। साथै, चुरोट र मदिराजस्ता वस्तुमा लगाइने करको केही हिस्सा स्वास्थ्य बीमा कोषमा राख्ने सरकार सकारात्मक रहेको उहाँले बताउनुभयो।

अर्थमन्त्री वाग्लेले भन्नुभयो, “हामी समता उन्मुख समाजको कल्पना अनुसार स्वास्थ्य बिमा पुनर्संरचना गर्दैछौँ। यसपालि कार्यक्रमलाई विपन्न जनताको आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्ने तर सक्षम नागरिकलाई योगदानमा आधारित प्रणालीमा ल्याउने तयारी छ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट