नेपाल हेल्थ न्युज, काठमाडौं । अफ्रिकी मुलुक कङ्गो र युगाण्डामा इबोला भाइरसको नयाँ प्रकोप देखिएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यसलाई अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य आपतकाल घोषणा गरेको छ । सोही अवस्थालाई ध्यानमा राख्दै नेपाल सरकारले पनि सम्भावित जोखिम न्यूनीकरणका लागि निगरानी तथा तयारी कार्यलाई तीव्र बनाएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार डब्लुएचओको घोषणापछि नेपालले इबोला संक्रमणको जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी अघि बढाएको छ । उनले परीक्षण क्षमता, स्वास्थ्यकर्मीको दक्षता, उपचार व्यवस्थापन तथा संक्रमण नियन्त्रणका उपायहरूको समीक्षा गर्दै मातहतका अस्पताल, प्रयोगशाला र सरुवा रोग नियन्त्रण निकायसँग समन्वय भइरहेको जानकारी दिनुभयो ।
मन्त्रालयले सम्भावित संक्रमित व्यक्ति नेपाल भित्रिन सक्ने जोखिमलाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय प्रवेशबिन्दुहरूमा स्वास्थ्यकर्मी परिचालन गरेको छ । ती स्थानहरूमा यात्रुहरूको स्वास्थ्य निगरानी, संक्रमणसम्बन्धी अभिमुखीकरण, शंकास्पद बिरामीको पहिचान तथा आवश्यक परीक्षण र व्यवस्थापनका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र सरुवा रोग अस्पतालसँग समन्वय गरिएको छ ।
स्वास्थ्य सेवा विभागअन्तर्गतको राष्ट्रिय इमर्जेन्सी मेडिकल टिमलाई समेत सक्रिय बनाइएको मन्त्रालयले जनाएको छ । साथै, अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावलीअनुसार विभिन्न देशसँग सूचना आदान–प्रदान तथा सहकार्य जारी रहेको र हाल नेपालमा तत्काल इबोला संक्रमण फैलिने अवस्था नरहेको स्पष्ट पारिएको छ ।
सहायक प्रवक्ता अधिकारीले भन्नुभयो, “डब्लुएचओको घोषणासँगै नेपालले आफ्नो तयारीलाई थप सुदृढ बनाएको छ । प्रवेशबिन्दुहरूमा स्वास्थ्यकर्मी परिचालन गरिएको छ, प्रयोगशाला र अस्पतालसँग समन्वय भइरहेको छ, र इमर्जेन्सी मेडिकल टिम सक्रिय छ । अहिले आत्तिनुपर्ने अवस्था छैन, तर सजगता आवश्यक छ ।”
इबोला भाइरस कसरी सर्छ ?
इबोला भाइरस जङ्गली जनावरबाट मानिसमा सर्ने एक गम्भीर संक्रमण हो । विशेषगरी चमेरो, चिम्पान्जी, गोरिल्ला, बाँदर, सुँगुर, मृग र दुम्सी जस्ता जनावरको रगत, मासु वा शरीरका तरल पदार्थसँगको सम्पर्कबाट संक्रमण सुरु हुन सक्छ ।
एक व्यक्तिबाट अर्को व्यक्तिमा भने संक्रमित रगत, शरीरका तरल पदार्थ वा दूषित सामग्रीसँग प्रत्यक्ष सम्पर्क हुँदा रोग सर्छ । यौन सम्पर्कका क्रममा पनि संक्रमण फैलिन सक्ने चिकित्सकहरू बताउँछन् ।
इबोलाका लक्षणहरू
- उच्च ज्वरो आउने
- टाउको दुख्ने
- जोर्नी तथा मांसपेशी दुख्ने
- घाँटी र पेट दुख्ने
- कमजोरी र भोक नलाग्ने
- सास फेर्न कठिनाइ हुने
रोग बढ्दै जाँदा बान्ता, पखाला, छालामा डाबर आउने, अंग फेल हुने तथा शरीरका विभिन्न भागबाट रक्तस्राव हुने जस्ता गम्भीर लक्षण देखिन सक्छन् ।
उपचार, रोकथाम र नियन्त्रण
हाल इबोलाको कुनै निश्चित उपचार औषधि वा व्यापक रूपमा प्रयोग हुने खोप उपलब्ध छैन । त्यसैले उपचार मुख्य रूपमा सहायक स्याहारमा आधारित हुन्छ, जसमा शरीरमा तरल पदार्थ सन्तुलन राख्ने, ओआरएस दिने र आवश्यक सहयोगी उपचार गर्ने गरिन्छ ।
रोग रोकथामका लागि सरसफाइ, संक्रमित व्यक्तिसँगको सम्पर्कबाट जोगिनु र स्वास्थ्य सावधानी अपनाउनु नै सबैभन्दा प्रभावकारी उपाय मानिन्छ । –न्युज एजेन्सी नेपाल
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
