नेपाल हेल्थ न्युज, काठमाडौं । औषधि व्यवस्था विभाग मुलुकको औषधि नियमन गर्ने प्रमुख निकाय हो । औषधिको दर्ता, आयात, उत्पादन, वितरण तथा गुणस्तर अनुगमनको जिम्मेवारी बोकेको यस विभागबाट हुने निर्णयले प्रत्यक्ष रूपमा औषधि उद्योग, आयातकर्ता, व्यवसायी र अन्ततः बिरामीलाई असर पार्ने गर्दछ । तर पछिल्लो समय विभागभित्रको प्रशासनिक ढिलासुस्ती र फाइल रोकिएर बस्ने प्रवृत्तिका कारण औषधि क्षेत्रका सरोकारवालाहरू असन्तुष्ट बनेका छन् ।
औषधि उद्योगी तथा व्यवसायीहरूका अनुसार विभागमा दर्ता, आयात अनुमति, वितरण स्वीकृति तथा अन्य नियामक प्रक्रियासँग सम्बन्धित कैयौं फाइलहरू लामो समयदेखि अल्झिएका छन् । विशेषगरी १० औं तहकी वरिष्ठ औषधि व्यवस्थापक सचिता जोशीको कार्यक्षेत्र अन्तर्गत पर्ने कतिपय फाइलहरू समयमा टुंगो नलाग्दा उद्योगी तथा व्यवसायीले अनावश्यक हैरानी भोग्नुपरेको गुनासो गरेका छन् ।
सरकारले सार्वजनिक सेवा प्रवाहलाई छिटो, पारदर्शी र प्रभावकारी बनाउन आवश्यक अध्ययनपछि सात दिनभित्र फाइलको निर्णय गर्ने नीति लिएको भए पनि विभागमा त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको सम्बन्धित पक्षहरूको भनाइ छ । उनीहरूका अनुसार फाइल कहिले अघि बढ्छ र अनुमति कहिले प्राप्त हुन्छ भन्ने अनिश्चितताका कारण कतिपय कम्पनीहरूले आफ्ना कर्मचारी नै विभागमा खटाएर कामको प्रगति बुझ्नुपर्ने अवस्था सिर्जना भएको छ ।
औषधि क्षेत्रका जानकारहरूका अनुसार नियामक निकायमा हुने ढिलासुस्तीले व्यवसायिक गतिविधि मात्र प्रभावित गर्दैन, यसले बजारमा आवश्यक औषधिको उपलब्धतामा समेत असर पार्न सक्छ । दर्ता र आपूर्ति प्रक्रियामा अवरोध हुँदा नयाँ औषधि बजारमा आउन ढिलो हुने, केही औषधिको अभाव सिर्जना हुने तथा बिरामीले समयमै उपचार नपाउने जोखिम बढ्ने उनीहरूको तर्क छ ।
यही पृष्ठभूमिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभागको कार्यसम्पादनप्रति चासो देखाएको छ । गत जेठ २२ गते स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको स्थलगत निरीक्षण तथा छलफल गर्दै औषधि आपूर्ति र व्यवस्थापनलाई प्रभावकारी बनाउन विभिन्न निर्देशन दिनुभएको छ ।
मन्त्री मेहताले बजारमा अभाव देखिएका औषधिको आपूर्ति सहज बनाउन तत्काल प्रक्रिया अघि बढाउन निर्देशन दिनुभयो । त्यसैगरी अनुमति लिएर पनि नियमित आपूर्ति नगर्ने आपूर्तिकर्तामाथि नियमन कडा गर्न, अनुमति प्राप्तिका लागि निवेदन दिएका तर अझै स्वीकृति नपाएका कम्पनीहरूको स्थलगत निरीक्षण गरी आवश्यक प्रक्रिया टुंग्याउन पनि निर्देशन दिइएको छ ।
छलफलका क्रममा विभागको नियमन क्षमता अभिवृद्धि गर्न आवश्यक तयारी गर्न, औषधि आपूर्ति अनुमति प्रक्रियालाई थप प्रभावकारी बनाउन आवश्यक स्रोतसाधन र जनशक्तिको विवरण तत्काल पेस गर्न तथा सरकारी निःशुल्क औषधि र स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध हुने औषधिको गुणस्तर परीक्षणलाई प्राथमिकता दिन पनि मन्त्री मेहताले जोड दिनुभएको छ ।
स्वास्थ्यमन्त्रीको निर्देशनले विभागभित्र थन्किएका फाइलहरू, अनुमति प्रक्रियामा देखिएको ढिलाइ तथा औषधि आपूर्तिसँग सम्बन्धित समस्याहरूलाई सरकार स्वयंले गम्भीर रूपमा लिएको संकेत गरेको विश्लेषण गरिएको छ । यद्यपि निर्देशन कार्यान्वयन भएर सेवा प्रवाहमा वास्तविक सुधार आउँछ कि आउँदैन भन्ने विषय भने आगामी दिनमा विभागको कार्यशैलीले स्पष्ट पार्नेछ ।
औषधि उद्योगी, आयातकर्ता तथा व्यवसायीहरू भने नियामक प्रक्रियालाई पारदर्शी, समयबद्ध र प्रविधिमैत्री बनाउनुपर्ने माग राख्दै आएका छन् । उनीहरूका अनुसार औषधि जस्तो संवेदनशील क्षेत्रमा हुने ढिलासुस्तीको असर अन्ततः बिरामीमाथि पर्ने भएकाले विभागले सेवा प्रवाहलाई प्रभावकारी बनाउनु आजको आवश्यकता हो । मन्त्रीको हालैको निर्देशनले सुधारको अपेक्षा जगाएको भए पनि त्यसको परिणाम व्यवहारमा देखिनु नै सबैभन्दा महत्वपूर्ण हुने सरोकारवालाहरू बताउँछन् ।
युरोपबाट म्याग्नस फार्मालाई अन्तर्राष्ट्रिय सम्मान
शुक्रबार, जेठ २९, २०८३
चितवनमा औषधि पसलमा छापाः आहारपूरक, कस्मेटिक र मसाज तेलको नियमनमा उठेका प्रश्न
बुधबार, जेठ २७, २०८३
युरोपेली स्किनकेयर ब्रान्ड ‘प्योर डर्मा’ को नेपाल प्रवेश
आइतबार, जेठ २४, २०८३
नेपाल उद्योग बाणिज्य महासंघमा विप्लव अधिकारीको प्रवेश
बुधबार, वैशाख २३, २०८३

