नेभिगेशन
बेल्जियमबाट प्राप्त अन्तर्राष्ट्रिय सम्मानले नेपाली औषधि उद्योगको गुणस्तर र विश्वसनीयतालाई नयाँ उचाइमा पुर्याएको  सन्देश 

युरोपबाट म्याग्नस फार्मालाई अन्तर्राष्ट्रिय सम्मान

‘क्वालिटी एचिभमेन्ट अवार्ड २०२६’ प्राप्त, नेपाली औषधि उद्योगको क्षमता विश्वमञ्चमा स्थापित

add final

नेपाल हेल्थ न्युज, काठमाडौँ । नेपाली औषधि उद्योगको बढ्दो अन्तर्राष्ट्रिय उपस्थितिलाई थप बल पुग्ने गरी म्याग्नस फार्मा प्रा.लि.ले प्रतिष्ठित ‘क्वालिटी एचिभमेन्ट अवार्ड २०२६’ प्राप्त गरेको छ ।

बेल्जियमको राजधानी ब्रुसेल्समा आयोजित समारोहमा युरोपियन सोसाइट फर क्वालिटी रिसर्चले प्रदान गरेको उक्त सम्मानलाई कम्पनीले गुणस्तर, नवप्रवर्तन र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको उत्पादनप्रतिको आफ्नो दीर्घकालीन प्रतिबद्धताको मान्यताका रूपमा लिएको छ ।

सन् २००७ मा स्थापना भएको म्याग्नस फार्माले छोटो अवधिमै नेपाली औषधि उद्योगमा छुट्टै पहिचान बनाउन सफल भएको छ । प्रारम्भिक चरणमा ट्याब्लेट र क्याप्सुल उत्पादनबाट यात्रा सुरु गरेको कम्पनीले अहिले छाला रोगसम्बन्धी क्रीम, आँखाको औषधि, नाकमा प्रयोग गरिने स्प्रे तथा उच्च गुणस्तरका इन्जेक्टेबल औषधिसमेत उत्पादन गर्दै आफ्नो उत्पादन दायरा उल्लेखनीय रूपमा विस्तार गरेको छ ।

वीरगञ्जको रामपुरटोकनीस्थित आधुनिक उत्पादन केन्द्रमार्फत सञ्चालन भइरहेको कम्पनीले विश्व स्वास्थ्य संगठनको जीएमपी तथा आईएसओ मापदण्डअनुसार उत्पादन गर्दै आएको जनाएको छ । कम्पनीले उत्पादन प्रक्रियामा गुणस्तर सुनिश्चितता, अनुसन्धान तथा नवप्रवर्तनलाई निरन्तर प्राथमिकतामा राख्दै आएको छ ।sp-maskey-1-1781271092.jpeg

म्याग्नस फार्माले नेपालमै पहिलोपटक केही महत्वपूर्ण औषधिहरू उत्पादन तथा बजारमा ल्याएर स्वदेशी औषधि उद्योगको विकासमा योगदान पुर्याएको दाबी गरेको छ । कम्पनीका उत्पादनले नेपाली स्वास्थ्यकर्मी र बिरामीलाई आयातित औषधिको विकल्प उपलब्ध गराउन सहयोग पुगेको उद्योग क्षेत्रका जानकारहरू बताउँछन् ।

घरेलु बजारमा मात्र सीमित नरही म्याग्नस फार्माले अन्तर्राष्ट्रिय बजारमा समेत आफ्नो उपस्थिति विस्तार गरिसकेको छ । कम्पनीले भेनेजुयला र मोरिसस  लगायतका देशमा औषधि निर्यात गर्दै नेपाली औषधि उद्योगको क्षमतालाई विश्व बजारमा परिचित गराउने प्रयास गरिरहेको छ ।

कम्पनीका प्रबन्ध निर्देशक एस.पी. मास्केले यो सम्मान म्याग्नस फार्माका लागि मात्र नभई समग्र नेपाली औषधि उद्योगका लागि गौरवको विषय भएको बताउनुभयो । यसरी अन्तर्राष्ट्रिय स्तरबाट प्राप्त मान्यताले नेपाली उद्योगले गुणस्तर र प्रतिस्पर्धात्मक क्षमतामा हासिल गरेको प्रगतिलाई पुष्टि गरेको छ ।

नेपाल अझै औषधिमा पूर्ण रूपमा आत्मनिर्भर हुन नसकेको अवस्थामा स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने यस्ता उपलब्धिले उद्योग क्षेत्रलाई थप ऊर्जा दिने अपेक्षा गरिएको छ । गुणस्तर, अनुसन्धान, उत्पादन विविधीकरण र निर्यात विस्तारमा केन्द्रित म्याग्नस फार्माको रणनीतिले आगामी दिनमा नेपाललाई औषधि उत्पादनमा आत्मनिर्भर बनाउने अभियानलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फर्मा अपडेट