नेपाल हेल्थ न्युज, काठमाडौं । स्वीकृति पाएकोभन्दा बढी शय्या थपेर सञ्चालन गरिरहेका मेडिकल कलेजमाथि सरकारले कारबाही प्रक्रिया सुरु गरेको छ । आफैँ शय्या थपेर सञ्चालन गरिरहेका मेडिकल कलेजबाट बढी भएको रकम असुली गरिने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको हो ।
मन्त्रालयले त्यस्ता मेडिकलबाट करिब रु एक करोड ७८ लाख ४४ हजार बेरुजु रकम रहेकाले उक्त रकम उठाउने तयारी थालेको जनाएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य क्षेत्रका बेथितिहरू क्रमशः हटाउँदै जाने क्रममा पाँच वर्षअघिको बेरुजु असुल गर्ने गरी काम सुरु गरिएको बताउनुभयो ।
उहाँले बढी भएको रकम असुली गर्ने कार्य सुरु भइसकेको जनाउँदै थप कलेजहरूका अन्य क्रियाकलापका बारेमा पनि सरकारले अनुगमन गरिरहेको उल्लेख गर्नुभयो ।
“राजधानीसहित देशका विभिन्न भागमा सञ्चालित ११ वटा मेडिकल कलेजले स्वीकृति पाएभन्दा बढी शय्या थपेर अतिरिक्त आम्दानी गरिरहेका छन् । तर कर तथा दस्तुर भने स्वीकृत शय्या सङ्ख्या बराबरको मात्र बुझाउने गरेका छन्”, उहाँले भन्नुभयो।
महालेखा परीक्षकको प्रतिवेदनले करिब पाँच वर्षअघि मेडिकल कलेजको यो प्रवृत्तिबारेमा जानकारी गराएर ती मेडिकल कलेजबाट असुल उपर गर्नुपर्ने रकम उल्लेख गरेको थियो । सोही आधारमा स्वास्थ्य मन्त्रालयले थपिएका शय्या सङ्ख्या बराबरको दस्तुरबापतको थप रकम बेरुजुका रूपमा सङ्कलन गरी सञ्चित कोषमा दाखिला गर्न लागेको जनाएको छ ।
स्वीकृतभन्दा बढी शय्या राखी कमाउने मेडिकल कलेजमा भरतपुरको चितवन मेडिकल कलेज, ललितपुरको मेडसिटी मेडिकल कलेज, पोखराको गण्डकी मेडिकल कलेज, विराटनगरको नोबेल मेडिकल कलेज तथा काठमाडौंको नेपाल मेडिकल कलेजले आर्थिक वर्ष २०७६र७७ देखि शय्या थप गरेकाले सोही समयदेखिको बेरुजु रकम असुल उपर गरिने मन्त्री मेहताले जानकारी दिनुभयो । रासस
चिकित्सकमाथि आक्रमणपछि नारायणी अस्पतालका पाँच जना स्वास्थ्यकर्मी निलम्बनमा
आइतबार, साउन १०, २०८३
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
