नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न परिषद् तथा निकायहरूमा रिक्त रहेका पदाधिकारीहरूको पदपूर्ति प्रक्रिया पुनः सुरु गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै विभिन्न परिषद्का अध्यक्ष, रजिष्ट्रार, सदस्य सचिव तथा कार्यकारी निर्देशक पदका लागि आवेदन आह्वान गरेको हो।
मन्त्रालयले करिब दुई साताअघि पनि यी पदहरूको लागि आवेदन माग गरेको भए पनि केही दिनमै प्रक्रिया स्थगित गरिएको थियो। यसपटक भने प्रमुख पदाधिकारीहरूको नियुक्तिलाई प्राथमिकतामा राख्दै प्रक्रिया पुनः अघि बढाइएको मन्त्रालयले जनाएको छ।
सूचनाअनुसार नेपाल आयुर्वेद चिकित्सा परिषद्मा अध्यक्ष र रजिष्ट्रार पदका लागि आवेदन खुला गरिएको छ। त्यसैगरी नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा सात जना सदस्य तथा एक जना सदस्य सचिवका लागि दरखास्त आह्वान गरिएको छ।
यस्तै नेपाल नर्सिङ परिषद्मा अध्यक्ष, उपाध्यक्ष र रजिष्ट्रार, नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा अध्यक्ष र रजिष्ट्रार, नेपाल फार्मेसी परिषद्मा अध्यक्ष र रजिष्ट्रार तथा नेपाल मेडिकल काउन्सिलमा अध्यक्ष र रजिष्ट्रार पदका लागि आवेदन माग गरिएको छ।
त्यसैगरी शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यकारी निर्देशक र स्वास्थ्य बीमा बोर्डमा अध्यक्ष तथा कार्यकारी निर्देशक पदका लागि पनि आवेदन खुला गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालय स्रोतका अनुसार यस चरणमा अधिकांश परिषद्हरूमा सदस्य पदका लागि आवेदन खुला गरिएको छैन। प्रारम्भिक रूपमा अध्यक्ष, रजिष्ट्रार तथा प्रमुख पदाधिकारीहरूको नियुक्ति सम्पन्न भएपछि सम्बन्धित निकायको सिफारिसका आधारमा सदस्यहरूको मनोनयन गर्ने तयारी गरिएको छ।
मन्त्रालयले योग्य तथा इच्छुक नेपाली नागरिकलाई सूचना प्रकाशित भएको मितिले १० दिनभित्र आवश्यक कागजातसहित आवेदन पेश गर्न आग्रह गरेको छ।

नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
