नेभिगेशन

वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पूर्ण विश्वविद्यालयमा रूपान्तरण गर्न माग

नेपाल हेल्थ न्युज, धरान । धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बीपीकेआईएचएस) लाई राष्ट्रिय महत्वको संस्थाका रूपमा संरक्षण गर्दै पूर्ण स्वास्थ्य विज्ञान विश्वविद्यालयमा रूपान्तरण गर्नुपर्ने माग उठाइएको छ।

बीपीकेआईएचएस अलुम्नाइ एशोसिएसनले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता, शिक्षा मन्त्री सस्मित पोखरेल तथा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सभापति डा. ओजस्वी शेरचनसँग भेट गरी यस विषयमा ज्ञापनपत्र बुझाएको छ। एशोसिएसनका अध्यक्ष डा. ओम शान्ति रजकका अनुसार छलफलमा प्रतिष्ठानको भविष्य, स्वायत्तता र स्तरोन्नतिको विषयमा गम्भीर ध्यानाकर्षण गराइएको हो।

ज्ञापनपत्रमा हाल सञ्चालन भइरहेको विश्वविद्यालय स्तरोन्नति प्रक्रियामा बीपीकेआईएचएसलाई समावेश नगरिएकोप्रति असन्तुष्टि जनाउँदै न्यायोचित रूपमा समेटिनुपर्ने माग गरिएको छ। प्रतिष्ठानलाई छुट्टै क्षमतायुक्त संस्था भएकाले समान अवसर दिनुपर्नेमा जोड दिइएको छ।

वि.सं. २०४९ मा स्थापना भएको यस प्रतिष्ठानले तीन दशकभन्दा बढी समयदेखि चिकित्सा शिक्षा, स्वास्थ्य सेवा र अनुसन्धान क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएको उल्लेख गरिएको छ। यहाँबाट उत्पादित दक्ष जनशक्ति नेपाल मात्र नभई विदेशका विभिन्न मुलुकमा समेत कार्यरत रहेको र यसले नेपालको स्वास्थ्य शिक्षाको प्रतिष्ठा बढाउन सहयोग गरेको दाबी गरिएको छ।

स्नातकदेखि विद्यावारिधिसम्मका शैक्षिक कार्यक्रम सञ्चालन भइरहेको, पर्याप्त पूर्वाधार, ठूलो अस्पताल सेवा क्षमता, अनुसन्धानमैत्री वातावरण तथा अनुभवी जनशक्ति भएकाले यसलाई पूर्ण विश्वविद्यालयका रूपमा विकास गर्न पर्याप्त आधार रहेको ज्ञापनपत्रमा उल्लेख छ।

अलुम्नाइ एशोसिएसनले संघीय संरचनाअनुसार सक्षम संस्थाहरूको स्वायत्तता र पहिचान जोगाउँदै उनीहरूको क्षमता अनुसार विकासका अवसर दिनुपर्ने धारणा राखेको छ। साथै, चिकित्सा शिक्षामा गुणस्तर र एकरूपता कायम गर्ने प्रयास सकारात्मक भए पनि समान क्षमता भएका संस्थाहरूलाई समान अवसर सुनिश्चित गर्नुपर्ने सुझाव पनि दिइएको छ।

अध्यक्ष रजकका अनुसार यस पहललाई प्रतिष्ठानको अस्तित्व, गरिमा र दीर्घकालीन विकास सुनिश्चित गर्ने महत्वपूर्ण प्रयासका रूपमा लिइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट
ट्रेन्डिङ