नेभिगेशन

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

नेपाल हेल्थ न्युज, काठमाडौं । निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरिएको छ।

भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै अस्पतालको कार्यकारी निर्देशक पद पूर्तिका लागि आवेदन माग गरेको हो।

निजामती कर्मचारी अस्पताल विकास समिति को गठन आदेश, २०६४ तथा सम्बन्धित नियमावली, २०७७ अनुसार उक्त पदमा नियुक्ति गरिने मन्त्रालयले जनाएको छ।

उम्मेदवारले मान्यता प्राप्त विश्वविद्यालयबाट चिकित्साशास्त्र वा अस्पताल व्यवस्थापन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्नेछ। साथै, सम्बन्धित क्षेत्रमा राजपत्राङ्कित द्वितीय श्रेणी वा सो सरहको पदमा कम्तीमा १५ वर्षको कार्यअनुभव अनिवार्य गरिएको छ।

आवेदकले आवेदनसँगै शैक्षिक योग्यता, नागरिकताको प्रतिलिपि, कार्यअनुभवका प्रमाणपत्रहरू तथा अस्पताल विकास सम्बन्धी बढीमा ५ हजार शब्दको सिलबन्दी व्यवसायिक कार्ययोजना (बिजनेस प्लान) पेस गर्नुपर्नेछ। सरकारी वा सार्वजनिक संस्थामा कार्यरत स्थायी कर्मचारीका लागि विभागीय स्वीकृति अनिवार्य गरिएको छ।

सूचना पहिलो पटक प्रकाशित भएको मितिले १५ दिनभित्र मन्त्रालयको कर्मचारी कल्याण शाखामा कार्यालय समयभित्र आवेदन दिन सकिनेछ। आवेदन शुल्क रु ५ हजार तोकिएको छ।

प्राप्त आवेदनमध्ये प्रारम्भिक चरणमा छोटो सूची (शर्टलिस्ट) प्रकाशित गरिनेछ। त्यसपछि शैक्षिक योग्यता, अनुभव, तालिम, अनुसन्धानमूलक लेख, कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्ताका आधारमा अन्तिम छनोट गरिने मन्त्रालयले जनाएको छ। हाल अस्पतालको निमित्त कार्यकारी निर्देशकका रूपमा डा. रवी प्रकाश शर्मा कार्यरत रहेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट