नेभिगेशन

अब क्यान्सरको औषधि सहज उपलब्ध हुने

नेपाल हेल्थ न्युज, काठमाडौं । विगत दुई महिनादेखि क्यान्सर उपचारमा प्रयोग हुने औषधिको अभाव देखिएको अवस्थामा अब ती औषधिको आपूर्ति सहज हुने भएको छ ।

औषधि व्यवस्था विभागका सूचना अधिकारी किरणसुन्दर बज्राचार्यका अनुसार क्यान्सरको किमोथेरापी उपचारमा प्रयोग हुने औषधि केही दिनभित्रै पर्याप्त मात्रामा उपलब्ध हुनेछन् । हाल ती औषधि सीमित स्थानमा मात्र उपलब्ध गराइँदै आएकामा अब देशभर सहज रूपमा आपूर्ति गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो  । 

औषधिको अभाव रहेकाले हामीले बिरामीलाई सहजताका लागि देशभरि केही ठाउँमा अस्पताल र फार्मेसीको नामै तोकेर उपलब्ध गराउने गरेका छौँ, उहाँले भन्नुभयो, अब चाँडै नै औषधिको आयातलाई सहज बनाएर बिरामीलाई सजिलै उपलब्ध गराउने छौँ । उहाँले सरकारले ती औषधिको मूल्य समायोजन गर्ने प्रतिबद्धता व्यक्त गरिसकेकाले सहज पाइने बताउनुभयो ।

क्यान्सरको किमोथेरापी उपचारका लागि हुने ‘कार्बोप्लाटिन’, ‘सिस्प्लाटिन’ लगायत औषधिको अभाव विगत दुई महिनादेखि भएको हो ।

विभागले ती औषधि पाउनका लागि जानकी अस्पताल नेपालगञ्ज, पूर्वाञ्चल क्यान्सर अस्पताल विर्तामोड, विराट मेडिकल कलेज विराटनगर, वविना फर्मा पोखरा, पुनम फार्मेसी धरान, राजदूत प्रालि भरतपुर, मल्ल फर्मास्युटिकल्स पोखरा, ताज नेपाल प्रालि काठमाडौं, डिकेएम फर्मास्युटिकल्स प्रालि काठमाडौं, सिजल फर्मा र अनमोल हेल्थ केयर काठमाडौंलाई औषधि सहजताका लागि सम्पर्क तोकिएको छ ।

किमोथेरापी उपचारका लागि सबभन्दा बढी ‘कार्बोप्लाटिन’ र त्यसपछि ‘सिस्प्लाटिन’ औषधि आवश्यक पर्दछ । सूचना अधिकारी बज्राचार्यका अनुसार अहिले नेपालमा ‘कार्बोप्लाटिन’ औषधि दुई हजार भाइल र ‘सिस्प्लाटिन’ ५० भाइल मात्र मौज्दात रहेको छ ।

नेपालमा बिरामीका लागि महिनामा एक हजार भाइल ‘कार्बोप्लाटिन’ र ६०० भाइल ‘सिस्प्लाटिन’ आवश्यक पर्दछ । नेपाल औषधि आपूर्तिकर्ता सङ्घका अध्यक्ष पवन आचार्यले बिरामीको उपचारलाई अभाव हुन नदिनका लागि आफूहरूले महँगा भए पनि औषधि नेपाल आयात गरेर उपलब्ध गराइरहेको बताउनुभयो ।

उहाँले एक महिनालाई पुग्ने ‘सिस्प्लाटिन’ औषधि भारतबाट नेपाल आउने क्रममा रहेको जानकारी दिनुभयो । उहाँले सरकारले मूल्य समायोजन गरेपछि औषधिको अभाव नहुने बताउनुभयो । भक्तपुर क्यान्सर अस्पताल, चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत क्यान्सर रोगको किमोथेरापीमा उपचारमा प्रयोग हुने औषधिको अभाव देखिएको हो । रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट