नेपाल हेल्थ न्युज, जनकपुरधाम । मधेश प्रदेश सरकारले स्वास्थ्य सेवा सञ्चालनमा जनशक्तिको अभाव हुन नदिन अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।
प्रदेशको संगठन तथा व्यवस्थापन सर्वेक्षणको काम सम्पन्न नभएसम्म आवश्यक जनशक्ति व्यवस्थापन गरी स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरिएको हो ।
मधेश प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज भट्टराईका अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा यस्तो निर्णय गरेको हो । स्वास्थ्य सेवा अत्यावश्यक तथा संवेदनशील क्षेत्र भएकाले जनशक्तिको अभाव हुन नदिन अस्थायी व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
त्यस्तै, मन्त्रिपरिषद् बैठकले प्रदेशका मुख्यमन्त्री तथा मन्त्री र प्रदेश सभाका पदाधिकारी तथा सदस्यका निजी तथा स्वकीय सचिवालयमा कार्यरत कर्मचारीको संख्या पुनरावलोकनसम्बन्धी अध्ययन प्रतिवेदन पनि स्वीकृत गरेको छ ।
सचिवालयको विद्यमान संगठनात्मक संरचना र कर्मचारी संख्यालाई पुनरावलोकन गरी तयार गरिएको ‘अनुसूची–२ परिमार्जनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ स्वीकृत गर्दै त्यसमा उल्लेखित सुझाव तथा सिफारिसलाई आवश्यक कानुनी व्यवस्था मिलाएर कार्यान्वयन गर्ने निर्णय गरिएको छ ।
सरकारले सचिवालयको जनशक्ति कार्यबोझ, आवश्यकता र जिम्मेवारीका आधारमा व्यवस्थापन गर्नुका साथै सार्वजनिक स्रोतको मितव्ययी र प्रभावकारी उपयोग गर्ने उद्देश्यले कर्मचारी संख्या पुनरावलोकन गरिएको जनाएको छ ।
यसैगरी, स्थानीय तहमा कार्यरत कर्मचारीको वृत्ति विकास, सेवा, शर्त तथा सुविधासम्बन्धी विषयलाई व्यवस्थित बनाउन विद्यमान कानुनी व्यवस्था संशोधन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।
स्थानीय तह (गठन तथा सञ्चालन) सम्बन्धी ऐन, २०८१ संशोधनका लागि विधेयकको मस्यौदा तयार गरी प्रदेश सभाको आगामी अधिवेशनमा पेश गर्ने निर्णय भएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।
सरकारका अनुसार स्थानीय तहमा आवश्यक जनशक्तिको स्थायित्व, कर्मचारीको वृत्ति विकास सुनिश्चितता तथा कर्मचारी व्यवस्थापनमा देखिएका कानुनी र व्यावहारिक जटिलता समाधान गर्न विद्यमान कानुनी व्यवस्थाको पुनरावलोकन गर्न लागिएको हो ।
१८ वर्षीया नर्स सुनिता बनिन् कांग्रेसको क्षेत्रीय प्रतिनिधि
आइतबार, असोज ४, २०८३
बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार
आइतबार, असोज ४, २०८३

