नेपाल हेल्थ न्युज, कोलम्बो । श्रीलङ्कामा तीव्ररूपमा बढ्दै गएको डेङ्गु सङ्क्रमण नियन्त्रण गर्न सरकारले सेना परिचालन गरेको छ र स्वास्थ्य अधिकारीहरूले अस्पतालमा दैनिक एक हजारभन्दा बढी नयाँ बिरामी भर्ना भइरहेको चेतावनी दिएका छन् ।
राष्ट्रपति अनुरा कुमार दिसानायकेको कार्यालयका अनुसार लामखुट्टेबाट फैलिने डेङ्गु नियन्त्रणका लागि सेना, नौसेना र वायुसेनाका सदस्य संयुक्त विशेष एकाइमा परिचालित भएका छन् ।
उनीहरूले लामखुट्टे प्रजनन हुने स्थान पहिचान गरी नष्ट गर्ने अभियान सञ्चालन गर्ने छन् । डेङ्गु ज्वरोले उच्च ज्वरो, टाउको दुखाइ, वाकवाकी, बान्ता, मांसपेशी दुखाइ जस्ता लक्षण देखाउने र गम्भीर अवस्थामा रक्तस्रावसहित मृत्युसमेत हुन सक्ने स्वास्थ्य अधिकारीले बताएका छन् ।
यस वर्ष हालसम्म करिब ५० हजार सङ्क्रमण पुष्टि भइसकेको छ भने २९ जनाको मृत्यु भएको छ । यद्यपि यो सङ्ख्या सन् २०१७ को महामारीभन्दा कम हो । त्यति बेला एक लाख ८६ हजार सङ्क्रमित र ४४० जनाको मृत्यु भएको थियो । डेङ्गु फैलाउने एडिस जातको लामखुट्टे स्थिर पानीमा प्रजनन गर्ने भएकाले पानी जम्ने स्थान हटाउन विशेष ध्यान दिइएको छ ।
सरकारी विज्ञप्तिमा आफ्नो परिसरमा लामखुट्टे प्रजनन हुन दिनेमाथि कानुनी कारबाही कडाइका साथ लागु गरिने उल्लेख छ । सरकारले बुधबारदेखि देशव्यापी सरसफाइ तथा प्रजनन स्थल नष्ट गर्ने अभियान सुरु गर्ने जनाएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले जलवायु परिवर्तनका कारण डेङ्गु जस्ता लामखुट्टेजन्य रोग तीव्ररूपमा फैलिँदै गएको चेतावनी दिँदै आएको छ ।
श्रीलङ्कामा जुन महिनाको सुरुदेखि नै सङ्क्रमण तीव्ररूपमा बढिरहेको छ र केही दिनमा मात्र दैनिक एक हजारभन्दा बढी नयाँ केस दर्ता भएको सरकारी तथ्याङ्कले देखाएको छ । स्वास्थ्य विभागका अनुसार राज्य तथा निजी अस्पताल पहिले नै अत्याधिक दबाबमा छन् र थप सङ्क्रमणले स्वास्थ्य प्रणालीमा ठुलो चुनौती सिर्जना गर्ने जोखिम बढेको छ ।
डेङ्गु युनिटकी प्रमुख कपिला कन्नङ्गाराले अस्पताल पहिले नै दबाबमा रहेको उल्लेख गर्दै सन् २०१७ जस्तो भयावह अवस्था दोहोरिन नदिन तत्काल नियन्त्रण आवश्यक रहेको बताउनुभयो । मनसुनी वर्षा, हालैको बाढी र पानी जम्ने स्थानको वृद्धि कारण सङ्क्रमण फैलिन सहज वातावरण बनेको अधिकारीहरूको मूल्याङ्कन छ । रासस/एएफपी
नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
