नेभिगेशन

गैरकानूनी रूपमा चिकित्सा अभ्यास गर्ने महिला पक्राउ

नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गैरकानूनी रूपमा चिकित्सा अभ्यासमा संलग्न रहेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ।

सीआईबीका अनुसार काठमाडौं जिल्ला चन्द्रागिरी नगरपालिका–८ स्थित स्पार्क इन्टरनेशनल हेल्थ रिसोर्टमा कार्यरत ४७ वर्षीया चेतन ए.एम. (पौडेल) लाई पक्राउ गरिएको हो। उनी काठमाडौंको साविक मातातीर्थ गाविस–७ स्थायी ठेगाना भएकी हुन्।

नेपाल मेडिकल काउन्सिलको नियमित अनुगमनका क्रममा पौडेलले चिकित्सक नभईकन चिकित्सकको उपाधि प्रयोग गरेको तथा नेपाल मेडिकल काउन्सिलमा दर्ता नगरी बिरामीहरूको आधुनिक चिकित्सा पद्धतिबाट निदान तथा उपचार गरिरहेको पाइएको जनाएको छ। अनुगमनका क्रममा बिरामीलाई औषधि सिफारिस गरिएको प्रेस्क्रिप्सनसमेत फेला परेको थियो।

नेपाल मेडिकल काउन्सिल, बाँसबारीले तयार पारेको छानबिन प्रतिवेदनसहितको उजुरीका आधारमा सीआईबीले प्रारम्भिक अनुसन्धान अघि बढाएको थियो। त्यसपछि काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर सीआईबीको टोलीले असार ९ गते चन्द्रागिरी–८ स्थितबाट पौडेललाई पक्राउ गरेको जनाएको छ।

प्रहरीले अदालतबाट म्याद थप अनुमति लिएर मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ‘इलाज सम्बन्धी कसूर’ मा थप अनुसन्धान गरिरहेको जनाएको छ।

यस सम्बन्धमा सीआईबीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराले घटनाबारे थप अनुसन्धान जारी रहेको जानकारी दिएका छन्।

chetana-poudel-1782369710.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट