नेभिगेशन

मेडिकल काउन्सिलको ‘हेलो एनएमसी’ पोर्टल सञ्चालनमा

नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले सेवा प्रवाहलाई थप सहज र पहुँचयोग्य बनाउन ‘हेलो एनएमसी’ पोर्टल सञ्चालनमा ल्याएको छ। पोर्टल सुरु भएसँगै सर्वसाधारण तथा दर्तावाला चिकित्सकले विभिन्न गुनासा तथा उजुरी अनलाइनमार्फत दर्ता गर्न सक्ने भएका छन्।

काउन्सिलका निमित्त रजिष्ट्रार दिपेन्द्र पाण्डे का अनुसार यसअघि चिकित्सक वा चिकित्सा क्षेत्रसँग सम्बन्धित उजुरी दर्ता गर्न सेवाग्राहीहरूलाई काउन्सिलको कार्यालयमै भौतिक रूपमा उपस्थित हुनुपर्ने बाध्यता थियो। विशेषगरी दूरदराजबाट आउने सेवाग्राहीले सामान्य कामका लागि पनि काठमाडौंस्थित कार्यालय धाउनुपर्दा समय र आर्थिक भार व्यहोर्नुपर्ने अवस्था रहेको थियो।

‘हेलो एनएमसी’ पोर्टल सञ्चालनमा आएसँगै अब सर्वसाधारणले आफ्नो पहिचान खुलाएर वा नाम गोप्य राखेर समेत उजुरी दर्ता गर्न सक्ने व्यवस्था गरिएको काउन्सिलले जनाएको छ। नाम खुलाएर दर्ता गरिएका उजुरीका हकमा पनि उजुरीकर्ताको गोपनीयता सुरक्षित राखिने बताइएको छ।

यसअघि उजुरीको अवस्था र कारबाही प्रक्रियाबारे जानकारी प्राप्त गर्न कठिन हुने गरेकोमा अब उजुरी दर्ता भएपछि प्रणालीले स्वचालित रूपमा ‘ट्र्याकिङ नम्बर’ उपलब्ध गराउनेछ। उक्त नम्बरमार्फत उजुरीमाथि भइरहेको छानबिन तथा कारबाहीको प्रगतिबारे सम्बन्धित व्यक्तिलाई एसएमएस र इमेलमार्फत नियमित जानकारी दिइने व्यवस्था गरिएको छ।

chikitsa-shikshya-aayog-1780046670.jpg
 

काउन्सिलका अनुसार दर्तावाला चिकित्सकहरूले आफ्नो व्यक्तिगत खातामार्फत लगइन गरी अनलाइन गुनासो दर्ता गर्न सक्नेछन्। त्यसैगरी सर्वसाधारणले काउन्सिलको आधिकारिक वेबसाइटमा रहेको ‘हेलो एनएमसी’ पोर्टल प्रयोग गरेर उजुरी दर्ता गर्न सक्नेछन्। साथै, क्युआर कोड स्क्यान गरेर वा इमेलमार्फत समेत आवश्यक कागजातसहित उजुरी पठाउन सकिने व्यवस्था मिलाइएको छ।

काउन्सिलले डिजिटल माध्यमबाट सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र सेवाग्राहीमैत्री बनाउने उद्देश्यले उक्त पोर्टल सञ्चालनमा ल्याएको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट