नेपाल हेल्थ न्युज, काठमाडौं । बर्खा यामको सुरुवातसँगै डेङ्गी संक्रमण नियन्त्रण गर्न काठमाडौं महानगरपालिकाले यस वर्ष १ हजार ६ सय ५० जना तालिमप्राप्त जनशक्ति परिचालन गर्ने भएको छ।
महानगरको स्वास्थ्य विभागले स्वास्थ्य प्रवर्द्धन केन्द्रका प्रमुख तथा स्वास्थ्यकर्मीलाई क्षमता विकास तालिम सञ्चालन गर्दै असारभित्रै पहिलो चरणमा सबै वडामा ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गर्ने रणनीति बनाएको जनाएको छ।
तालिमपछि स्वास्थ्य प्रवर्द्धन केन्द्रका इञ्चार्ज र स्वास्थ्यकर्मीले प्रत्येक वडामा थप ५० जनालाई प्रशिक्षण दिनेछन्। महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय क्लब, टोल सुधार समिति, आमा समूह तथा अन्य सामुदायिक संघसंस्थाका प्रतिनिधिलाई तालिममा सहभागी गराइनेछ। तालिम प्राप्त जनशक्तिले वडाका विभिन्न स्थानमा डेङ्गी सार्ने लामखुट्टेका लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गर्नेछन्।
महानगरले डेङ्गी संक्रमण र त्यसबाट हुने मृत्यु दर घटाउने राष्ट्रिय लक्ष्यअनुसार निगरानी तथा अनुगमन प्रणाली सुदृढीकरण, कीट नियन्त्रण, जोखिम सञ्चार, सामुदायिक सहभागिता, स्वास्थ्य प्रणालीको पूर्वतयारी, बहुक्षेत्रीय सहकार्य, कार्यक्रम व्यवस्थापन, अनुसन्धान तथा नवप्रवर्तनलाई प्राथमिकतामा राखेको जनाएको छ।
क्षमता विकास कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र स्वास्थ्य कार्यालय काठमाडौंका अधिकारीहरूले डेङ्गी नियन्त्रणका लक्ष्य तथा रणनीतिबारे जानकारी गराएका थिए।
स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीले मनसुन सुरु भएसँगै साउनदेखि डेङ्गी संक्रमण क्रमशः बढ्दै कार्तिक मंसिरमा उच्च बिन्दुमा पुग्ने भएकाले अहिलेबाटै रोकथामका उपाय प्रभावकारी रूपमा लागू गर्नुपर्ने बताए। उनले रोग नियन्त्रणका लागि प्रत्येक व्यक्ति र परिवारको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गरे।
महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका फोकल पर्सन ऋषिप्रसाद भुषालले समुदायस्तरमा डेङ्गी रोकथामसम्बन्धी सन्देश प्रभावकारी रूपमा पुर्याउने र विगतका अनुभवका आधारमा नियन्त्रण कार्यक्रमलाई थप सुदृढ बनाइने बताए।
स्वास्थ्य विभागले डेङ्गी फैलाउने एडिस जातको लामखुट्टे सफा जमेको पानीमा प्रजनन गर्ने भएकाले घर तथा आसपासका गमला, टायर, पानी राख्ने भाँडा, कौसी, बरण्डा, सडक र खाल्टाखुल्टीमा पानी जम्न नदिन सर्वसाधारणलाई आग्रह गरेको छ।
डेङ्गी संक्रमित लामखुट्टेले टोकेको ४ देखि ७ दिनभित्र उच्च ज्वरो, आँखाको गेडी दुख्ने, हाडजोर्नी तथा मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, अत्यधिक कमजोरी महसुस हुने, भोक कम लाग्ने तथा शरीरमा राता विमिरा देखिने जस्ता लक्षण देखिन सक्ने भएकाले यस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न स्वास्थ्य विभागले अनुरोध गरेको छ।
ईनर ह्विल डिस्ट्रिक्ट ३५० को अध्यक्षमा डा. सृष्टि श्रेष्ठ प्रजापति चयन
शनिबार, असार १३, २०८३
नगरप्रमुखद्वारा चिकित्सकमाथि दुर्व्यवहार भएको भन्दै चिकित्सक संघको आपत्ति
शुक्रबार, असार १२, २०८३
रास्वपा महिला उपसभापतिमा सोविता र तोसिमा भिड्ने
शुक्रबार, असार १२, २०८३
एकीकृत शैक्षिक क्यालेन्डर लागू गर्न राष्ट्रिय चिकित्सा शिक्षा आयोगको निर्देशन
शुक्रबार, असार १२, २०८३
