नेपाल हेल्थ न्युज, भक्तपुर । क्यान्सर उपचारमा सबैभन्दा महत्वपूर्ण पक्ष हो—समयमै सही निदान । तर नेपालमा अझै पनि धेरै बिरामीले बायोप्सीपछि क्यान्सरको प्रकार यकिन गर्न आवश्यक पर्ने विशेष परीक्षणका लागि विदेश पठाउनुपर्ने बाध्यताको सामना गरिरहेका छन् । यसले उपचार सुरु हुन कम्तीमा दुई सातासम्म ढिलाइ हुने र त्यही अवधिमा रोग थप जटिल बन्न सक्ने जोखिम बढाउने चिकित्सकहरू बताउँछन् ।
यही चुनौतीलाई अन्त्य गर्ने लक्ष्यसहित भक्तपुर क्यान्सर अस्पतालले अब बायोप्सी, इम्युनोहिस्टोकेमिस्ट्री (आईएचसी) र फ्लो साइटोमेट्रीलगायत क्यान्सर निदानका सम्पूर्ण अत्याधुनिक परीक्षणहरू नेपालमै, त्यो पनि स्वास्थ्य बिमाले तोकेको दरमा उपलब्ध गराउन थालेको जनाएको छ ।
अस्पतालका कार्यकारी निर्देशक एवं वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. उज्ववल चालिसेका अनुसार क्यान्सर भएको आशंका लागेपछि सबैभन्दा पहिले शंकास्पद भागको सानो मासुको नमुना निकालेर बायोप्सी गरिन्छ । तर बायोप्सीले मात्र सबै अवस्थामा क्यान्सरको ठ्याक्कै प्रकार निर्धारण गर्न सक्दैन। त्यसका लागि इम्युनोहिस्टोकेमिस्ट्री (आईएचसी) र केही रगत तथा बोनम्यारोसम्बन्धि क्यान्सरमा फ्लो साइटोमेट्री जस्ता विशेष परीक्षण आवश्यक पर्छ ।
नेपालमा यी परीक्षण गर्ने सुविधा सीमित भएकाले धेरै अस्पतालले नमुना विदेश पठाउने गरेका छन् । यसले बिरामी र परिवारलाई आर्थिक भार मात्र होइन, उपचार सुरु गर्नुपर्ने अत्यन्त महत्वपूर्ण समयसमेत गुमाउनुपर्ने अवस्था सिर्जना गर्दै आएको छ ।
भक्तपुर क्यान्सर अस्पतालका अनुसार उपचार सुरु हुनुअघि दुई सातासम्म रिपोर्टको प्रतीक्षा गर्नु क्यान्सरजस्ता रोगमा जोखिमपूर्ण हुन सक्छ । त्यसैले बायोप्सी गरिएको नमुनाको एउटा भाग भक्तपुर क्यान्सर अस्पताल पठाउन आग्रह गरिएको छ । अस्पतालले तीन दिनभित्र रिपोर्ट उपलब्ध गराउने दाबी गरेको छ जसले समयमै रोगको पहिचान गरी उपचार छिटो सुरु गर्न मद्दत पुग्ने विश्वास लिएको छ ।
अस्पतालले हाल १२५ भन्दा बढी प्रकारका आईएचसी प्यानल सञ्चालन गरिरहेको जनाएको छ । यसलाई नेपालको क्यान्सर रोग निदान सेवामा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । यसले क्यान्सरको प्रकार अझै स्पष्ट रूपमा छुट्याउन, उपचारको उपयुक्त योजना बनाउन तथा बिरामीलाई लक्षित उपचारतर्फ लैजान चिकित्सकलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
अस्पतालको प्याथोलोजी टोलीले निकट भविष्यमा नेक्स्ट जेनेरेसन सिक्वेन्सिङ (एनसिएस) सेवा पनि सञ्चालन गर्ने तयारी गरिरहेको जनाएको छ । यो प्रविधि सुरु भएपछि क्यान्सरको आनुवंशिक (जेनेटिक) विश्लेषण गरी व्यक्तिगत आवश्यकता अनुसार उपचार योजना बनाउन थप सहज हुने विश्वास गरिएको छ ।
स्वास्थ्य विज्ञहरूका अनुसार क्यान्सर उपचारमा औषधि जत्तिकै महत्वपूर्ण समयमै हुने सही निदान हो । नेपालमै अत्याधुनिक प्याथोलोजी सेवा विस्तार हुँदै जानु बिरामीलाई उपचारका लागि विदेश धाउनुपर्ने बाध्यता घटाउने मात्र होइन, उपचारको सफलता बढाउन पनि महत्वपूर्ण कदम हुने अपेक्षा गरिएको छ ।
भक्तपुर क्यान्सर अस्पताल र धुलिखेल अस्पतालबीच प्राविधिक तथा शैक्षिक सहकार्यको सम्झौता
आइतबार, साउन १७, २०८३
क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव
शुक्रबार, साउन १५, २०८३
नेपालमै सुरु हुँदै कार–टी सेल थेरापीः क्यान्सर उपचारमा नेपालको ऐतिहासिक फड्को
आइतबार, असार २८, २०८३

