नेभिगेशन

त्रिवि शिक्षण अस्पतालमा २० जना विभिन्न करार पदका लागि आवेदन आह्वान

नेपाल हेल्थ न्युज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जले विभिन्न प्राविधिक पदमा करार सेवामार्फत कर्मचारी नियुक्त गर्न आवेदन खुलाएको छ। अस्पतालले चिकित्साशास्त्र अध्ययन संस्थान कार्यान्वयन समितिबाट स्वीकृत अस्थायी दरबन्दीअनुसार योग्य नेपाली नागरिकबाट अनलाइन आवेदन माग गरेको हो।

अस्पतालको कर्मचारी प्रशासन शाखाका अनुसार मुख्य प्राविधिक सहायकअन्तर्गत फार्मेसी, प्याथोलोजी र रेडियोग्राफीका लागि पाँच–पाँच जना कर्मचारी आवश्यक छन्। यस्तै, मुख्य प्राविधिक सहायक (हेल्थ असिस्टेन्ट) पदमा चार जना र न्युरोइलेक्ट्रोफिजियोलोजी टेक्निसियनतर्फ एक जना नियुक्त गरिनेछ।

सम्बन्धित पदमा आवेदन दिन मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा प्रमाणपत्र तह वा सोसरहको अध्ययन पूरा गरेको हुनुपर्नेछ। न्युरोइलेक्ट्रोफिजियोलोजी टेक्निसियन पदका लागि भने सम्बन्धित विषयमा स्नातक वा डिप्लोमा तह उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था गरिएको छ।

आवेदकको उमेर १८ वर्ष पूरा भएको र ४० वर्ष ननाघेको हुनुपर्नेछ। इच्छुक उम्मेदवारले २०८३ असोज ३१ गतेसम्म अस्पतालको अनलाइन आवेदन प्रणालीमार्फत फाराम बुझाउन सक्नेछन्। आवेदनका लागि दुई हजार रुपैयाँ शुल्क तोकिएको छ।

फाराम भर्दा एसईईदेखि माथिका शैक्षिक प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता भएको प्रमाणपत्रलगायतका कागजात अनिवार्य रूपमा अपलोड गर्नुपर्नेछ। विदेशबाट अध्ययन गरेका उम्मेदवारले सम्बन्धित तहको समकक्षता प्रमाणपत्रसमेत पेस गर्नुपर्नेछ। साथै, पासपोर्ट साइजका दुईवटा फोटो आवश्यक पर्ने अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार तोकिएको प्रक्रिया पूरा नगरी वा आवश्यक कागजात नपुगेका आवेदनमाथि कुनै कारबाही गरिने छैन। लिखित तथा अन्य परीक्षासम्बन्धी विस्तृत सूचना भने पछि अस्पतालको वेबसाइटमार्फत सार्वजनिक गरिनेछ।

tu-vacancy-job-1791094064.JPG
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट