नेभिगेशन

बीपी प्रतिष्ठानमा अत्याधुनिक सिबिसिटी सेवा सञ्चालनमा

नेपाल हेल्थ न्युज, धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले दन्त उपचार तथा निदान सेवालाई थप आधुनिक, प्रभावकारी र विशिष्टीकृत बनाउने उद्देश्यसहित अत्याधुनिक कोन बिम कम्प्युटेड टोमोग्राफी (सीबीसीटी) सेवा सञ्चालनमा ल्याएको छ।

प्रतिष्ठानको कलेज अफ डेन्टल सर्जरी अन्तर्गतको ओरल मेडिसिन तथा रेडियोलोजी विभागमा जडान गरिएको सीएस ९६०० फुल एफओभी मोडलको डिजिटल इमेजिङ प्रणालीको औपचारिक शुभारम्भ एक विशेष समारोहबीच गरिएको हो।

सेवाको उद्घाटन प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख डा. इन्द्र लिम्बु र प्राध्यापक डा. शिव लाल शर्माले संयुक्त रूपमा गरेका थिए। कार्यक्रममा अस्पताल प्रशासन, दन्त संकाय, स्वास्थ्यकर्मी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

प्रतिष्ठानका अनुसार नयाँ सीबीसीटी प्रणाली कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित आधुनिक डिजिटल इमेजिङ प्रविधि हो। यसले कम विकिरण प्रयोग गर्दै उच्च गुणस्तरका त्रि(आयामिक (३डी) तस्बिर उपलब्ध गराउने भएकाले दाँत, बङ्गारा, स्नायु तथा मुखभित्रका संरचनाको सूक्ष्म परीक्षण गर्न सहज हुनेछ।

यो प्रविधिले दन्त इम्प्लान्टको योजना बनाउन, मुख तथा अनुहारसम्बन्धी जटिल शल्यक्रियाअघि विस्तृत मूल्याङ्कन गर्न, प्रारम्भिक चरणमै रोग पहिचान गर्न तथा उपचारको प्रभावकारिता अनुगमन गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। अर्थोडोन्टिक, बाल दन्त उपचार तथा टीएमजे (बङ्गाराको जोर्नी) सम्बन्धी समस्याको मूल्याङ्कनमा समेत यसको उपयोग हुने प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानले सीबीसीटीमार्फत उपलब्ध हुने विभिन्न परीक्षण सेवा सुलभ शुल्कमा सञ्चालन गरेको जनाएको छ। परम्परागत सिटी स्क्यान वा एक्स–रेको तुलनामा यस प्रविधिबाट कम विकिरण उत्सर्जन हुने भएकाले बिरामी र स्वास्थ्यकर्मी दुवैका लागि यो अझ सुरक्षित मानिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट