नेपाल हेल्थ न्युज, काठमाडौं। नेपाल मेडिकल काउन्सिलले आधुनिक चिकित्सा क्षेत्रको नियमन तथा अवैध चिकित्सकीय अभ्यास नियन्त्रण गर्ने उद्देश्यले ‘अवैध चिकित्सक अभ्यास नियन्त्रण कार्यविधि–२०८३’ जारी गरेको छ।
काउन्सिलको बोर्ड बैठकले स्वीकृत गरेको उक्त कार्यविधिअनुसार गैर–स्वास्थ्यकर्मीले ‘डाक्टर’ उपाधि प्रयोग गर्दै आधुनिक चिकित्सा अभ्यास गर्न नपाउने व्यवस्था गरिएको छ। कार्यविधिले स्वास्थ्यसम्बन्धी विभिन्न पेशागत परिषद्मा दर्ता नभई वा दर्ता भए पनि आफ्नो स्वीकृत कार्यक्षेत्रभन्दा बाहिर गई चिकित्सा सेवा वा स्वास्थ्य उपचार गर्नु वा गराउनु अवैध चिकित्सकीय अभ्यास मानिने स्पष्ट गरेको छ।
नेपाल मेडिकल काउन्सिलका निमित्त रजिस्ट्रार डा. दीपेन्द्र पाण्डेका अनुसार चिकित्सा क्षेत्रलाई व्यवस्थित, जिम्मेवार र कानुनी दायराभित्र सञ्चालन गर्न कार्यविधि लागू गरिएको हो।
उहाँले भन्नुभयो, “चिकित्सकले पनि आफ्नो आचारसंहिता उल्लङ्घन गरे कारबाहीको दायरामा आउँछन्। यो कार्यविधिले समग्र चिकित्सा क्षेत्रलाई थप व्यवस्थित र मजबुत बनाउन सहयोग पुर्याउनेछ।”
कार्यविधिअनुसार गैरचिकित्सकले आफ्नो कार्यक्षेत्रको सीमाभित्र रहेर मात्र अभ्यास गर्नुपर्नेछ। नेपाल मेडिकल काउन्सिल वा स्वास्थ्यसँग सम्बन्धित अन्य व्यावसायिक परिषद्मा दर्ता नभई, वा दर्ता भए पनि कानुनले तोकेको कार्यक्षेत्रभन्दा बाहिर गएर सेवा प्रदान गर्ने कार्यलाई अवैध चिकित्सकीय अभ्यासका रूपमा परिभाषित गरिएको छ।
यस्तै, आफूले प्राप्त नगरेको वा आधिकारिक निकायबाट प्रदान नगरिएको ‘डाक्टर’ उपाधि, डिग्री, डिप्लोमा, प्रमाणपत्र वा लाइसेन्स प्रयोग गर्नु, झुट्टा वा भ्रामक रूपमा चिकित्सक वा विशेषज्ञ चिकित्सकको परिचय दिँदै आधुनिक उपचार वा शल्यक्रिया गर्नु, स्वास्थ्यसम्बन्धी अतिरञ्जित वा भ्रमपूर्ण विज्ञापन गर्नु तथा फर्जी मेडिकल प्रमाणपत्र, प्रेस्क्रिप्सन वा अन्य आधिकारिक कागजात जारी गर्नु पनि अवैध चिकित्सकीय अभ्यासअन्तर्गत पर्ने कार्यविधिमा उल्लेख गरिएको छ।
काउन्सिलले कार्यविधिको प्रभावकारी कार्यान्वयनबाट अवैध चिकित्सकीय अभ्यास नियन्त्रण हुनुका साथै सर्वसाधारणले सुरक्षित, गुणस्तरीय र विश्वसनीय स्वास्थ्य सेवा प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरेको छ।
औषधि अभाव रोक्न न्यूनतम मौज्दात व्यवस्था लागू गरिँदै
बुधबार, असार १७, २०८३
नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा २४ र रजिष्ट्रारमा ३७ जनाको उम्मेदवारी
बुधबार, असार १७, २०८३
विभिन्न निकायका पदाधिकारी पदका आवेदकहरूको नामावली सार्वजनिक (सूची सहित)
बुधबार, असार १७, २०८३

