नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल चिकित्सक संघले नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले सामाजिक सञ्जालमार्फत नेपाल मेडिकल काउन्सिल (एनएमसी) तथा चिकित्सकहरूमाथि गरेको भनिएको भ्रामक, आधारहीन र मानहानिपूर्ण अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै नेपाल प्रहरीको साइबर ब्यूरोसँग कानुनी कारबाहीको माग गरेको छ।
संघले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपाल मेडिकल काउन्सिलले प्रचलित कानुनअनुसार तथ्य र प्रमाणका आधारमा आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको अवस्थामा काउन्सिल तथा त्यसका पदाधिकारीविरुद्ध तथ्यहीन र कपोलकल्पित अभिव्यक्ति सार्वजनिक गरिएको भन्दै त्यसको भर्त्सना गरेको छ।
संघका अनुसार काउन्सिलका निमित्त रजिस्ट्रार डा. दिपेन्द्र पाण्डेसहित पदाधिकारीहरूको मानमर्दन तथा चरित्रहत्या हुने उद्देश्यले सामाजिक सञ्जालमा सामग्री प्रकाशित गरिएको आरोप लगाइएको छ। यस्ता गतिविधिबारे आवश्यक छानबिन गरी साइबर अपराधसम्बन्धी प्रचलित कानुनअन्तर्गत कारबाही अघि बढाउन सम्बन्धित निकायसँग आग्रह गरिएको छ।
यसैक्रममा नेपाल चिकित्सक संघले नेपाल प्रहरीको साइबर ब्यूरोलाई औपचारिक पत्र पठाउँदै पूर्वसचिव उपाध्यायले फेसबुकलगायत सामाजिक सञ्जालमार्फत नेपाल मेडिकल काउन्सिल र चिकित्सकहरूलाई लक्षित गर्दै निरन्तर रूपमा भ्रामक, आधारहीन, मानहानिपूर्ण तथा गैरजिम्मेवारपूर्ण सामग्री प्रकाशन गरिरहेको आरोप लगाएको जनाएको छ।
संघले चिकित्सा विज्ञानसँग सम्बन्धित प्राविधिक विषयमा प्रमाणविहीन दाबी र गलत सूचना फैलाएर जनमानसमा भ्रम सिर्जना गरिएको दाबी गर्दै यस्ता गतिविधि प्रचलित विद्युतीय कारोबार ऐनविपरीत दण्डनीय अपराध भएको उल्लेख गरेको छ।
संघका अनुसार यस्ता सामग्रीका कारण बिरामी तथा सर्वसाधारणमा चिकित्सा प्रणालीप्रति भ्रम, त्रास र अविश्वास बढ्नुका साथै चिकित्सक र बिरामीबीचको विश्वासमा समेत असर परेको छ। साथै, स्वास्थ्यकर्मीहरूको सुरक्षामा चुनौती सिर्जना हुने र स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा अफवाह फैलिँदा समग्र स्वास्थ्य प्रणालीप्रति नागरिकको भरोसा कमजोर बन्न सक्ने जोखिम रहेको संघको भनाइ छ।
नेपाल चिकित्सक संघले सामाजिक सञ्जालमा प्रकाशित भनिएका भ्रामक सामग्री तत्काल हटाउन, घटनाको निष्पक्ष अनुसन्धान गर्न तथा प्रचलित कानुनबमोजिम आवश्यक कानुनी कारबाही अघि बढाउन साइबर ब्यूरोसँग आग्रह गरेको छ। उजुरीसँगै सामाजिक सञ्जालमा प्रकाशित भनिएका केही पोस्टका डिजिटल प्रमाणसमेत संलग्न गरिएको संघले जनाएको छ।
यसअघि पनि संघले विज्ञप्तिमार्फत नेपाल मेडिकल काउन्सिलको प्रतिष्ठा तथा पदाधिकारीहरूको मर्यादामाथि आघात पुग्ने अभिव्यक्ति अस्वीकार्य रहेको उल्लेख गर्दै यस्ता गतिविधिविरुद्ध कानुनी प्रक्रिया अघि बढाउन सम्बन्धित निकायसँग अनुरोध गरेको थियो। पूर्वसचिव भीम उपाध्यायले भने यस विषयमा सार्वजनिक रूपमा कुनै औपचारिक प्रतिक्रिया दिएका छन् वा छैनन् भन्ने कुरा तत्काल पुष्टि हुन सकेको छैन।
स्वास्थ्य मन्त्रालयको नयाँ आचारसंहिता सार्वजनिक, कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोगमा रोक
बिहीबार, असार १८, २०८३
नेपाल मेडिकल काउन्सिलको लोगो दुरुपयोग नगर्न आग्रह
बिहीबार, असार १८, २०८३
सीटीईभीटीको एकेडेमिक काउन्सिलमा चार क्षेत्रका विज्ञ मनोनित
बिहीबार, असार १८, २०८३
बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा डा. सिंह नियुक्त
बिहीबार, असार १८, २०८३
